वीरगंज | मधेस सरकारलाई दिएको समर्थन नेपाली कांग्रेसले फिर्ता लिने तयारी गरेपछि मुख्यमन्त्री सतिशकुमार सिंह संकटमा परेका छन् ।मन्त्रालय बाँडफाँटमा सहमति नभएपछि कांग्रेसले जनमत पार्टीका सिंह नेतृत्त्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको हो ।
मधेस सरकाारमा कांग्रेसले अर्थसहित चार मन्त्रालय मागेकोमा मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय आफैं राख्ने अडान लिएको र पटक पटक छलफल भएपनि मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय दिन अस्वीकार गरेपछि कांग्रेसले वर्तमान सरकारको विकल्प खोजेको छ ।
मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेस मधेस प्रदेशका प्रमुख सचेतक कुमरकान्त झाले बाए । शुक्रबार बस्ने कांग्रेस संसदीय दलको बैठकले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने दाबी उनले गरे ।मुख्यमन्त्री सिंहले कांग्रेसंग गरेको सहमति पालना नगरेको आरोप लगाउँदै उनले मुख्यमन्त्री सिंहले सहमतीको पालना नगरेकाले समर्थन फिर्ता लिएर नयाँ सरकार गठन प्रक्रियामा अगाडी बढ्ने बताए ।
कांग्रेसले एक साता अघि नै पर्साका प्रदेश सांसद जनार्दनसिंह क्षेत्रीको नेतृत्वमा सुनिल यादव, शेषनारायण यादव र कौशलकिशोर रायलाई सरकारमा पठाउने निर्णय गरिसकेको थियो । तर मुख्यमन्त्री सिंहले अर्थमन्त्रालय आँफुसंगै राख्ने अडान लिएपछि अहिलेसम्म कांग्रेस सरकारमा सहभागी भएको छैन ।