वीरगञ्ज । पर्सा जिल्ला अदालतले एक वर्षमा ८ हजार ७४ वटा मुद्दा फर्छाैट गरेको छ । आर्थिक वर्ष २०८०/८१ को अवधिमा करिब ५७ प्रतिशत मुद्दा फर्छाैट गर्न सफल भएको पर्सा जिल्ला अदालतका श्रेष्तेदार घनेन्द्र अधिकारीले जानकारी दिए । जसमध्ये आर्थिक वर्ष २०७९/८० बाट जिम्मेवारी सरी आएका ६ हजार ८६५ मुद्दा छन् भने २०८१ असार मसान्तसम्म नयाँ दर्ता भएका ७ हजार ३०१ मुद्दा रहेका छन् । जम्मा १४ हजार १६६ लगत संख्यामध्ये ६ हजार ९२ मुद्दा असार मसान्तसम्म बाँकी छन् ।
यसअघि गत आर्थिक वर्ष २०७९/८० मा ४७.६४ प्रतिशत मुद्दा फर्छाैट भएको थियो भने आर्थिक वर्ष २०७८/७९ मा ४६.०६ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा ४०.४४ प्रतिशत र २०७६/७७ मा ४०.०२ प्रतिशत मुद्दा फर्छाैट भएका थिए । पछिल्लो पाँच वर्षको तथ्यांकलाई हेर्दा यस आर्थिक वर्षमा सबैभन्दा धेरै मुद्दा फर्छाैट भएका छन् । अघिल्लो वर्षको तुलनामा झण्डै १० प्रतिशतले मुद्दा फर्छाैटको संख्या बढेको छ ।
पर्सा जिल्ला अदालतले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनका अवसरमा मुख्य न्यायधिश दीपक खनालले अदालतको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । उनकाअनुसार अदालतमा स्वचलित पेशी प्रणाली सुचारु गर्ने तयारी भइरहेको छ । जसले गर्दा सेवाग्राहीलाई सहज हुने उनको विश्वास छ । यस प्रणालीले मुद्दाको फर्छाैट तिव्र गतिमा हुने उनले दाबी गरे ।
मुख्य न्यायधिश खनालकाअनुसार चालु आर्थिक वर्षमा फर्छाैट भएका ५६.९९ प्रतिशत मुद्दामध्ये दर्ता भएको दुई वर्ष नाघेका ४४३ वटा थिए भने १८ महिनादेखि दुई वर्षभित्रका ३८१ वटा थिए । चालु आर्थिक वर्षमा तीन करोड ५१ लख ४० हजार ३६९ रुपैयाँ बराबरको जरवाना असुली गरिएको पनि खनालले जानकारी गराए । उनकाअनुसार सोही अवधिमा ११ जना महिलासहित ५७ जनाको कैद असुली गरिएको छ । पत्रकार सम्मेलनमा न्यायधिशहरु आनन्द प्रसाद श्रेष्ठ, मुकुन्द आचार्य, ध्रुबराज त्रिपाठी लगायतको सहभागिता रहेको थियो ।