वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विद्युत्, टेलिफोनका पोलहरूमा तारसँगै झुन्ड्याएर राखिएका होर्डिङ बोर्डहरू हटाउने कार्य शुरू गरेको छ।
महानगरका सरसफाइ तथा हरियाली विकास समितिका संयोजक जयप्रकाश खेतानका अनुसार इन्टरनेट, टेलिफोन, विद्युत्लगायतका तारहरू गन्जागोल अवस्थामा रहेका कारण आगलागीका घटनाहरू हुने गरेका छन्। यस समस्यालाई दृष्टिगत गर्दै आजदेखि नगर प्रहरीले पोलहरूमा रहेका होर्डिङ बोर्डहरू हटाउन शुरू गरेको हो।
खेतानले बताए अनुसार, गत असारमा एकै महीनामा आदर्शनगर क्षेत्रमा तीन ठाउँमा आगलागीका घटना भएका थिए। विशेषगरी, सिद्धार्थ बैंकमा ठूलो आगलागीको घटना भएको थियो भने पोलबाट आगो सल्केर दुईवटा मोटरसाइकल जलेको थियो। यसै कारणले महानगरपालिकाले ३२ वटै वडाका विद्युत् पोलहरूमा झुन्डिएका होर्डिङ बोर्डहरू हटाउने निर्णय गरेको छ र यस कार्यलाई निरन्तरता दिने योजना बनाएको छ।
खेतानले बताए अनुसार, पोलहरूमा तारहरूको गन्जागोलले गर्दा मात्रै नभई होर्डिङ बोर्डहरूले पनि आगलागीको जोखिम बढाएको छ। यस कार्यबाट महानगरलाई सफा र सुरक्षति बनाउने लक्ष्य राखिएको छ।
नगर प्रहरीले अभियानलाई सफल बनाउन सहयोग गर्दै आएको छ र यसलाई आगामी दिनहरूमा पनि निरन्तरता दिनेछ।