वीरगन्ज | नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको एन्जल बसमा सवार रहेका वीरगन्जका ३ जनाका परिवारलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले भेटेर सान्तवना दिएका छन् ।नदीमा गत शुक्रबारदेखि बेपत्ता एन्जल बसमा वीरगन्जका तीनै जना वीरगन्ज महानगरपालिका वडा नंबर १६ का रहेका छन् ।उनीहरुको परिवारसंग मेयर सिंहले बुधबार बिहान भेटेका हुन् ।
पहिरोमा परि त्रिशुली नदीमा खसेको बसमा सोही बसका चालक वीरगन्ज- १६ नगवाका जवाहिर महतो, बारा जिल्ला स्थायी घर भई हाल नगवामा बसोबास गर्दै आएका चन्देश्वर पंडितका २२ वर्षीय छोरा अरविन्द पणित र नगवाकै नयाँ वस्तीका हरेन्द्र पणित रहेका थिए । नदीमा खसेको बस र यात्रुको खोजी कार्य चलिरहेको भएपनि उनीहरुलाई अहिलेसम्म फेला पार्न सकिएको छैन ।
२ छोरा, १ छोरी र श्रीमती रहेका जवाहिरले रात्रि बस चलाएर जिविकोपार्जन गर्दै आएका थिए । घरको मूली (जवाहिर) नै नरहेपछि परिवार विचल्लीमा परेका छन् । चालक जवाहिरका परिवारसँग भेट गर्दै मेयर सिंहले बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरपालिकाले लिने बताउँदै जिविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगर तयार रहेको बताए ।
यस्तै शिक्षण अस्पताल काठमाडौँबाट बीएससी नर्सिङ पूरा गरि सेवा अवधिका लागि पत्र बुझ्न हिँडेका अरबिन्द पणितका परिवारसंग भेट गर्दै मेयर सिंहले पीडित परिवारको साथमा आफू सँधै रहेको बताए ।
यस्तै नगवा नयाँ टोलका ४५ वर्षीय हरेन्द्र पणितको परिवारलाई पनि मेयर सिंहले भेट गरे । काठमाण्डौमा फर्निचरको काम गर्दै आएका उनी पनि सोही बसमा गइरहेका थिए ।
भरतपुर महागनरपालिका वडा नंबर २९ सिमलतालस्थित सडकबाट गएको असार २८ गते शुक्रबार बिहान ३ बजे वीरगन्बाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३९००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस पहिरोसँगै बगेर त्रिशूलीमा बेपत्ता भएका थिए ।