वीरगंज । खोजीको छवौं दिनमा गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते बिहान पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको प्रहरीले जनाएको हो ।
काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शवलाई परिवारका सदस्यहरुले सनाखत गरेका हुन् ।
उनीहरु दुवैको शव नेपाल–भारत सीमा क्षेत्रको गण्डक ब्यारेज नजिकै फेला परेको थियो । जुन घटनास्थलभन्दा १०३ किलोमिटर पर हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने ९ वटा शवको मात्र सनाखत भएको छ । ८ शवको सनाखत हुन बाँकी छ ।
भेटिएका शवहरुमध्ये १५ जना पुरुष र २ महिलाका छन् । सनाखत भएकामा ६ जना नेपाली र ३ जना भारतीय छन् ।
१७ मध्ये १४ वटा शव पूर्वी नवलपरासीको नारायणी नदीको तटीय क्षेत्रमा भेटिएका हुन् । असार ३१ गते भेटिएका ५ र साउन १ गते भेटिएका ३ शवको सनाखत हुन बाँकी छ । अझै ४५ यात्रुको अवस्था अज्ञात छ ।