वीरगञ्ज । नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्का मन्त्रीहरुलाई एक महिनाभित्र जनताले अनुभव गर्ने गरी काम गर्न निर्देशन दिएका छन्। सोमबार अपराह्न सिंहदरबारमा बसेको ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई यस्तो निर्देशन दिएका हुन्।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकपछिको पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार प्रधानमन्त्री ओलीले ६ महिनाभित्र जनतालाई आश्वस्त पार्ने र परिणाम आउने गरी काम गर्न निर्देशन दिए।
मन्त्रालयहरू बीच समन्वयको अभाव समाधान गर्न जोड
प्रवक्ता गुरुङका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रालयहरु बीचको समन्वयको अभावलाई समाधान गर्न विशेष जोड दिएका छन्। उनले मन्त्रालयहरु बीचको समन्वय नभएकै कारण धेरै समस्याहरू उत्पन्न भएको बताए। उदाहरण स्वरूप, भौतिक पूर्वाधार मन्त्रालयले सडक बनाउने, तर खानेपानी मन्त्रालयले पानीको पाइप विछ्याउनका लागि सडक भत्काउने जस्ता समस्याहरू रहेको उनले बताए। यसले गर्दा निर्माण कार्यमा बाधा पुर्याउने र समग्र विकासमा ढिलासुस्ती हुने भएकोले, प्रधानमन्त्रीले मन्त्रालयहरू बीच समन्वय गर्न निर्देशन दिएका हुन्।
मन्त्रीहरूको जिम्मेवारी र परिणाममुखी कार्य
प्रधानमन्त्री ओलीले क्याविनेटका विभिन्न मन्त्रालयका मन्त्रीहरुलाई एक महिनाभित्र आफ्ना मन्त्रालयको काममा केही न केही फरक देखाउन निर्देशन दिए। ६ महिनाभित्र जनतालाई यो सरकार काम गर्ने सरकार हो भन्ने विश्वास दिलाउन र एक वर्ष भित्रमा देखिने गरी परिवर्तन ल्याउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले मन्त्रालयहरुबीच समन्वय गरेर उत्पादन र उत्पादकत्व बढाउन, विकास निर्माणका कार्यहरुमा समन्वय गरेर अघि बढ्न निर्देशन दिए। साथै, उनले राष्ट्रिय स्वाधिनता र मुलुकको स्वतन्त्रतालाई बलियो बनाउनको लागि पनि मन्त्रालयहरु बीचमा समन्वय आवश्यक रहेको बताए।
प्रवक्ता गुरुङले प्रधानमन्त्रीको निर्देशनलाई उद्धृत गर्दै भने, “हामीलाई अहिले असफल हुने, दायाँबायाँ हुने छुट छैन। त्यसकारणले राष्ट्रिय स्वाधिनताका लागि या मुलुकको स्वतन्त्रताको लागि, यसलाई बलियो बनाउनका लागि र उत्पादन र उत्पादकत्व बढाउन विभिन्न मन्त्रालयहरुको बीचमा समन्वय हुनुपर्छ।”