वीरगंज । नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरोसँगै खसेका दुई वटा बस र धेरैजसो यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल्याउने भएको छ ।
बिज्ञापन
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा. भीष्मकुमार भुसालले भारतबाट विज्ञसहितको उद्धार टोली ल्याउन हिजो नै परराष्ट्रमार्फत पत्राचार गरिएको जानकारी दिए । गाडीको अवस्था पत्ता लाग्न नसकेकाले अन्तर्राष्ट्रिय विज्ञ टोली नै मगाएर खोजी गर्न लागिएको उनले जानकारी दिए ।
गृह मन्त्रालयका अनुसार अहिले पनि पाँच सय जना सुरक्षाकर्मी परिचालन गरेर नेपालमा भएका सबै प्रविधिको प्रयोग गरी खोजी भैरहेको छ । गएको असार २८ गते शुक्रवार वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको एञ्जल डिलक्स र काठमाण्डौबाट गौरका लागि छुटेको गणपति डिलक्स बस सिमलतालबाट त्रिशूली नदीमा खसेर हराएका थिए । ती बसमा रहेका ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए ।
हिजोसम्म १४ जनाको शव विभिन्न क्षेत्रमा फेला परेका छन् । अझै ४८ जना यात्रु र दुई बस बेपत्ता छन् । नवनियुक्त गृहमन्त्री रमेश लेखकले यो दुर्घटनाको अध्ययन गर्न एक कार्यदल गठन गर्नुभएको छ । कार्यदललाई १० दिनको समय दिइएको छ ।