वीरगंज | नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणाले हमास आक्रमणमा बेपत्ता विपिन जोशीको खोजी गरी फिर्ता ल्याउन पहल गर्ने बताएकी छिन्। सोमबार मन्त्रालयको पदभार ग्रहण गरेसँगै उनले यस्तो प्रतिवद्धता जनाएकी हुन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का २४ वर्षीय विपिन सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इसराइल गएका थिए। हमासको कब्जामा परेयता उनी कसैको सम्पर्कमा छैनन्। नेपाल सरकारले उनको खोजीका लागि बारम्बार पहल गरेता पनि कुनै सफलता हात पर्न सकेको छैन। यसै सन्दर्भमा मन्त्री राणाले विपिनलाई फिर्ता ल्याउन थप पहल गरिने आश्वासन दिएकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नियुक्त गरेका २१ मध्ये ११ जना मन्त्री नयाँ अनुहारका रहेका छन्। नेपाली कांग्रेसले सरकारमा पठाएका १० मध्ये ७ जनालाई पहिलो पटक मन्त्री बनाएको हो। कांग्रेसबाट आरजु राणा देउवा (परराष्ट्र), प्रदीप पौडेल (स्वास्थ्य), रामनाथ अधिकारी (कृषि), तेजुलाल चौधरी (खेलकुद), बद्री पाण्डे (पर्यटन), अजयकुमार चौरासिया (कानुन) र ऐनबहादुर शाही ठकुरी (वन) मन्त्री बनेका छन्। यस्तै एमालेले पठाएका ८ मध्ये चार जना नयाँ छन्। देवेन्द्र दाहाल (भौतिक पूर्वाधार), विद्या भट्टराई (शिक्षा), मानवीर राई (रक्षा) र राजकुमार गुप्ता (सामान्य प्रशासन) मन्त्री बनेका छन्। एमालेले पठाएका दामोदर भण्डारी भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उद्योग मन्त्री थिए। ओली सरकारमा पनि उनलाई सोही मन्त्रालयको जिम्मेवारी दिइएको छ। विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ र बलराम अधिकारीले यसअघि पनि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यार्पण गरेका छन्। सोमवार पद तथा गोपनियताको शपथग्रहणसँगै लैनचौर पुगेका उनले शहीदको शालिकमा माल्यार्पण गरेका हुन्। प्रधानमन्त्री ओली शीतल निवासमा आयोजित शपथ समारोहबाट सिधै लैनचौर गएका थिए। प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि शहीद स्मारक पुगेर शहीलको शालिकमा माल्यार्पण वं पुष्पगुच्छा अर्पण गरेका थिए। नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज रामशाहपथस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेक हुन्।
पदभार ग्रहणपछि मन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै क्यान्सर रोगबाट धेरै नेपाली जनता पीडित रहेको उल्लेख गर्दै यसको नियन्त्रण तथा रोकथामका पक्षमा जोड दिने बताए। उनले एकीकृत स्वास्थ्य प्रणालीलाई सुदृढ र व्यवस्थित बनाउँदै सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउने प्रतिबद्धता व्यक्त गरे। “काम गर्ने ठाउँमा आएको छु। विज्ञहरुसँग आवश्यक सुझाव लिएर अगाडि बढ्छु”, मन्त्री पौडेलले भने “एकीकृत स्वास्थ्य प्रणाली सुदृढ बनाउन मेरो जोड रहनेछ।” मन्त्री पौडेलले छिटोछरितो ढङ्गबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ आफू कन्द्रित रहने उल्लेख गरे। नवनियुक्त स्वास्थ्य मन्त्री पौडेलको जन्म २०३१ चैत १४ गते आमा दुर्गादेवी र बुवा डिल्लीरमण पौडेलको सन्तानको रुपमा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा भएको हो। नेपाल विद्यार्थी सङ्घमा आवद्ध हुँदै २०४६ सालको जनआन्दोलनमा सक्रिय उहाँ २०५३ सालमा अमृत साइन्स क्याम्पसको स्ववियू सभापति निर्वाचित भएका थिए। लामो समय शैक्षिक परिवर्तनको पक्षमा रही विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै उनी २०६४ सालमा नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सभापति भएका थिए। समाजशास्त्रमा स्नातकोत्तर पौडेल हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत हुन्। उनी २०७९ को संसदीय निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। विसं २०६२/६३ को जनआन्दोलनका क्रममा उनले जेल सजायसमेत भोगेका थिए। नवनियुक्त गृहमन्त्री रमेश लेखकले सोमबार रामशाहपथस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहणपछि मन्त्री लेखकले सङ्क्षिप्त कुराकानी गर्दै आफूले इमानदारीताका साथ काम गर्न प्रतिबद्धता जनाए। उनले अहिले प्राकृतिक प्रकोपले देशैभर जन धनको क्षति भएको उल्लेख गर्दै प्राकृतिक विपद्लाई उचित ढंगले सम्बोधन गर्न बताए।
उनले आफ्नो पहिलो दाइत्व विधिको शासन, शान्ति सुरक्षाको, अपराध नियन्त्रण गर्न कुरामा केन्द्रित रहने जिकिर गरे। अहिलेकाे सरकारको प्राथमिकता राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, अर्थतन्त्रलाई चलायमान गर्ने, संविधानको समीक्षा गर्ने लगायत रहेको उनले जनाए। नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताएका छन्। सोमबार राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले नवगठित सरकारले तय गर्ने कार्यदिशालाई आगामी आर्थिक वर्षको बजेटले समस्या नपार्ने विश्वास व्यक्त गरे। उनले बजेट कार्यान्वयनमा कुनै समस्या देखिएमा त्यसलाई प्रक्रियागत रुपमा संशोधन गर्न सकिने धारणा राखे। ‘सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन। यदि बाधा देखियो भने कसरी फुकाउने भनेर कानुनी र संवैधानिक व्यवस्था छन्। सोही अनुसार संशोधन प्रक्रियामा जान्छौंँ’, अर्थमन्त्री पौडेलले भने। संसद्का दुई ठूला दलसहितको संयुक्त सरकार बनेपछि राजनीतिक स्थिरताको सन्देश दिएको बताउँदै उनले स्थायी सरकार गठन भएसँगै मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरे। ‘अहिलेको निराशा चिर्ने र आशा जगाउने गरी सरकार अगाडि बढ्छ। उत्पादन र रोजगारीमा केन्द्रित भएर अघि बढ्ने छौँ, यसका लागि सबै क्षेत्रले परिवर्तित सन्दर्भमा सहयोग गर्ने अपेक्षा गरेको छु’, पौडेलले भने, ‘शेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा रहेकाले यो क्षेत्र सन्तुलित ढङ्गले अघि बढोस् भन्ने चाहना छ।’नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने प्रतिबद्धता जनाएका छन्। सोमबार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिन आवश्यक रहेको बताए। “हामीले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ। हामी सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्नुपर्छ। यहाँका युवाहरूलाई प्रोत्साहन गर्नका लागि हामी आएका हाैँ। खेलकुदलाई सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउनेछाैँ।” उनले भने। मन्त्री चौधरीले सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेकोमा जाेड दिए। केही अप्ठ्यारो नभए डेढ वर्षसम्म मन्त्री बन्ने पनि उनले दाबी गरे। “हाम्रो अवधि केही अप्ठ्यारो परेन भने डेढ वर्षको हुनेछ। खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरुमा हामीले जथाभाबी लगानी गरेको महसुस गरेका छौँ।” मन्त्री चौधरीले आफूलाई सबैतिरबाट सुझाव, साथ र सहयोग हुने विश्वास लिएको पनि बताए। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन। राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन। उनी यसअघिको सरकारमा पनि विसं २०७९ चैत १२ गते श्रममन्त्री नियुक्त भएका थिए। विभिन्न समयमा मन्त्री बन्दै आएका उनी १३औँ पटक मन्त्री बनेका हुन। पदभार ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अघिल्लो कार्यकालमा वैदेशिक रोजगारका क्षेत्रमा | देखिएका समस्या समाधान गर्ने कार्यको थप निरन्तरता दिने बताए। “वैदेशिक रोजगारका क्षेत्रमा धेरै समस्या छन्। ती समस्याको समाधानका लागि निरन्तर पहल गर्नेछु। यसअघि पनि मैले यो मन्त्रालयको जिम्मेवारी सम्हालेको थिएँ। वैदेशिक रोजगारीमा देखिएका समस्याको समाधानका लागि काम गर्नेछु।” उनले भने। यसअघि स्वदेशमै रोजगारी सृजना गर्ने योजनामा उनी लागेका थिए। आफूलाई पुनः सोही मन्त्रालयमा जिम्मेवारी दिइएकोमा खुशी व्यक्त गर्दै उनले आफूले अबका दिनमा ती कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।