वीरगञ्ज । पर्साले तीन जना मन्त्री पाएको छ । मधेसको आन्दोलनको जग एवम् राजनीतिक थलोको रूपमा परिचित पर्साबाट निर्वाचित तीन जना सांसद मन्त्री बन्ने भएका हुन् ।
पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप यादव, क्षेत्र नम्बर २ बाट निर्वाचित अजय चौरसिया र क्षेत्र नम्बर ३ बाट निर्वाचित राजकुमार गुप्ता मन्त्री बन्ने भएका हुन् ।
निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमेत रहेका अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट प्रदीप यादव मन्त्री बन्दै छन् । जसपाबाट यादवसँगै नवलकिशोर साह सुडी पनि मन्त्री बन्दै छन् । यसअघि वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पनि सम्हालिसकेका यादवले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । आजै शपथ ग्रहण हुनेछ ।
अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएका छन् भने राजकुमार गुप्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
तीन जना मन्त्री पाउने भएपछि पर्सा विकास र समृद्धिको बाटोमा अग्रसर हुने पर्सावासीले आस गरेका छन् । जसपा, काँग्रेस र एमाले गरी तीन वटै दलका सांसद मन्त्री बनेपछि जनतामा आशा पनि बढेको छ । एकै पटक तीन जनाले मन्त्रीको जिम्मेवारी पाएको पर्सामा यो पहिलो पटक हो ।
यसअघि पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका थिए ।