वीरगञ्ज । त्रिशूली नदीमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुहरू मध्ये अहिले सम्म ११ जनाको शव फेला परेको छ। चितवन र नवलपरासीको गैँडाकोट, त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन्।
जिल्ला प्रशासन कार्यालय, चितवनका अनुसार सनाखत हुन नसकेका शवहरू मध्ये तीन वटा भरतपुर अस्पताल र तीन वटा परासी अस्पतालमा राखिएका छन्। पहिचान पश्चात ती शव पोष्टमाटम गरी परिवारलाई बुझाइने छ।
शुक्रवार भएको दुर्घटनामा अहिलेसम्म फेला परेका शवहरू मध्ये सनाखत भएकाहरूमा भारत वेतियाका सजात अन्सारी, रौतहटका प्रकाश ठाकुर, चितवन माडीका विकाश परियार, सर्लाही वरथहवाका रमितकुशर माझी र भारत विहारका ऋषि पाल रहेका छन्।
दुर्घटना ग्रस्त बस भने अझै फेला पार्न सकिएको छैन। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी कार्य जारी राखेका छन्। गृह सचिव एकनारायण अर्यालले बस खोज्न भारत वा चीनबाट विशेष उपकरण ल्याउने तयारी भइरहेको जानकारी दिएका थिए।
गत शुक्रवार बिहान काठमाडौँ गौरको बस र वीरगन्ज काठमाडौँको बस भरतपुरको सिमलतालबाट त्रिशूलीमा खस्दा बेपत्ता भएको थियो। पहिरोले बगाएर बेपत्ता भएको बसमा ६५ जना यात्रु थिए, जस मध्ये ३ जना पौडिएर बाँच्न सफल भएका छन्।