वीरगञ्ज । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको ह्याक सम्बन्धी घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने माग प्रतिपक्षी जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले गरेको छ। मधेश प्रदेशसभामा बजेट छलफलका क्रममा प्रतिपक्षी दल जसपाका सांसदहरुले बजेट पुनर्लेखनको माग गर्दै बैठक अवरुद्ध गरेका थिए, जसपछि बैठक असार २६ गतेसम्मका लागि स्थगित गरिएको छ।
आइतबारको प्रदेशसभा बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची तय गरिएको थियो। तर, सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै प्रतिपक्षी दलहरूले अबरोध गरे। जसपा नेपालका सांसद राजकुमार गुप्ताले सिस्टम ह्याक भएको कुरा सरकारले स्वीकार गरेकाले छानबिन गर्न समिति गठन गर्नुपर्ने अडान लिएका थिए। सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेर सहमति जुटाउन छलफल गरे पनि सहमति नजुट्दा बैठक २६ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरियो।
सांसद गुप्ताले आइतबारको छलफलमा सहमति नजुटेको र सत्ता पक्षले दुई दिनभित्र माग पुरा गर्ने जनाएपछि सभामुख मण्डलले बैठक स्थगित गरेको बताए। सांसद गुप्ताले भने, “सिस्टम ह्याक गरेर बजेटमा गडबड गरिएको कुरा मुख्यमन्त्री र तत्कालीन अर्थमन्त्रीले स्वीकार गर्नु भएको छ। यदि त्यस्तो भएको छ भने छानबिन गरी दोषीमाथि कारवाही गर्नुपर्छ र बजेट पुनर्लेखन गर्नुपर्छ।”
आगामी आर्थिक वर्ष ०८१/०८२ को बजेट सदनमा तत्कालीन अर्थमन्त्री भरतप्रसाद साहले सार्वजनिक गरेका थिए। तर, बजेट सार्वजनिक भएको एक दिन नवित्दै पूर्व अर्थमन्त्री साहले बजेटमा व्यापक त्रुटि रहेको भन्दै कर्मचारीमाथि विभिन्न आरोप लगाउँदै बजेट पुनर्लेखन गर्नुपर्ने आवाज सरकारबाटै उठाए। बजेट पुनर्लेखनका लागि तत्कालीन प्रतिपक्षी दल नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जसपा नेपाल लगायतलाई समेटेर तत्कालीन सत्तापक्षीय दल जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलले संयुक्त रुपमा मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै बजेट पुनर्लेखनको माग राखेका थिए।
बजेट पुनर्लेखनका लागि चर्को आवाज उठाएका तत्कालीन अर्थमन्त्री साह रहेको दल माओवादी, एस लगायतका दललाई मधेश प्रदेश सरकारले मन्त्रिमण्डलबाट हटाए पछि अहिले जसपा नेपालले सो मागलाई अघि बढाउँदै सदन अवरुद्धसम्म गरेका छन्।