वीरगंज | धनुषालगायतका विभिन्न जिल्लाहरुमा आपराधिक घटना घटाउने गिरोहका ६ जनालाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको छ। केहि दिनअघि मात्र जिल्लाकै गौशालास्थित मरहा खोला हुँदै घर फर्कदै गरेका एक युवकलाई गोली हानी सो समूहका दुईजना फरार भएका थिए। प्रहरीले गौशाला गोलीकाण्डकै आरोपीहरुलाई पछ्याउदै जाँदा हतियारसहित उनीहरुलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले समूहका अझै केहि व्यक्तिको खोजी जारी रहेको पत्रकार सम्मेलनमा जानकारी दिए। उनले महोत्तरीका विभिन्न घटनाहरुमा संलग्न श्रवणकुमार कापर भने धनुषा प्रहरीको नियन्त्रणमा रहेको बताए।
प्रहरीले गौशाला घटनामा संलग्न रहेको आरोपमा धनुषाको सवैला नगरपालिका– ९ भटिहन बस्ने ४७ वर्षीय शशीशंकर कापर र महोत्तरीको भंगहा नगरपालिका– २ बखरी टोल बस्ने ३० वर्षीय आशिष कुमार कंठलाई पक्राउ गरेको छ। यसैगरी औरही नगरपालिका– ३ स्थित साझा बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीबाट रकम लुटेको आरोपमा सोही समूहका सोनमा गाउँपालिका– २ तरहारी घर भई जनकपुर उपमहानगरपालिका– ७ जिरोमाइल बस्ने मुखचन्द्र दास तत्मा र औरही नगरपालिका– १ बस्ने ४० वर्षीय श्रवन कुमार कापरलाई पनि पक्राउ गरेको छ।
एकडारा गाउँपालिका– ४ हलखोरीमा भएको किराना पसल डाँका घटनामा औरही नगरपालिका– २ चेपकट बस्ने २२ वर्षीय राजाबाबु भन्ने राजाराम यादव र सोहि नगरपालिका १ बस्ने सुनिल कुमार यादवलाई समेत पक्राउ गरेको एसपी पोखरेलले बताए। महोत्तरीमा भएको पछिल्लो विभिन्न डाँका तथा लुटपाटको घटनामा यहि समूहको हात रहेको खुलेको र सोहि समूहबाट दुई वा तीनजनाको समूहमा गएर घटना घटाउने गरेको बुझिएको एसपी पोखरेलले थपे।
प्रहरीले अनुसन्धानकै क्रममा आरोपीहरुबारे सुराकी पाइसकेको अवस्थामा असार २ गते राती लोहारपट्टी नगरपालिका– २ स्थित विग्ही खोलाको बगरमा चेकजाँच बसाएको थियो। सोहि क्रममा आशिषकुमार कण्ठ, सुनिल कुमार यादव र मुखचन्द्र दास तत्मालाई प्रहरीले रोक्यो। उनीहरुको शंकास्पद व्यवहार देखिएपछि प्रहरीले सोधपुछ र चेकजाँच गर्दा कटुवा पेस्तोल एक थान, गोली ४ थान, क्लोरोफर्म एक बोतल बरामद गर्यो। प्रहरीले उनीहरुसंग नगद एक लाख ७३ हजार समेत बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले उनीहरुमाथि हातहतियार तथा खरखजाना, चोरी÷डाँका (लुटपाट), ज्यान मार्ने उद्योग र संगठित अपराधसहितको मुद्दामा छानविन भइरहेको बताए।