वीरगञ्ज । वीरगञ्जबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले दुई जनालाई पक्राउ गरेको हो। भारतको रक्सौलतर्फ जाने यात्रुवाहक अटोमा सवार दुई जनालाई शंकास्पद अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए।
उनका अनुसार खानतलासी गर्ने क्रममा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ बस्ने १८ वर्षीय ईमताज आलमले बोकेको कालो झोलाभित्र लुकाईछिपाई राखिएको पाँच किलो ७२० ग्राम लागुऔषध गाँजा फेला परेको हो।
ईमताजसँगै सवार भारत पूर्वी चम्पारणको मोतिहारी थाना भेलाही मुसहरवा २ बस्ने २२ वर्षीय नवरेज आलमलाई पनि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भारतीले बताए। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।