वीरगंज | नाबालिकालाई ब्युटीपार्लरमा काम दिने भनी फसाएर काठमाडौका विभिन्न मसाज सेन्टर तथा होटलमा यौन क्रियाकलापमा लगाइएको पाइएपछि प्रहरीले थप निगरानी बढाएको छ ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले विशेष सूचनाका आधारमा खोजतलास गर्दा काठमाडौको ठमेल र टोखामा नाबालिकाहरूलाई यौनधन्दामा लगाएको भेटेपछि थप निगरानी बढाएको हो ।
अनुसन्धानका क्रममा स्पा सेन्टर सञ्चालकहरू गोरखा सिरानचोक घर भई हाल काठमाडौको टोखा बस्ने रेशम गुरुङ र मकवानपुरको बागमती गाउँपालिका घर भई हाल ललितपुरको सातदोबाटा ३३ वर्षकी मखमली माया स्याङ्तान उक्त कार्यमा संलग्न रहेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिए। अनुसन्धान थालिएको र अन्य क्षेत्रमा खोजी तथा निगरानी जारी रहेको ब्यूरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
डर त्रास र प्रलोभनमा पारी नाबालिकालाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने गोप्य सूचनाका आधारमा टोखाको सनफ्लावर स्पा सेन्टर र ठमेलको ए वान स्पा सेन्टरबाट दुई नाबालिकाको उद्धार गरिएको प्रहरी उपरीक्षक मिश्रले बताए । पीडितको जाहेरीका आधारमा उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दा अघि बढाइएको र अन्यको खोजी भइरहेको उनले जानकारी दिए ।
प्रतिवादी रेशम गुरुङले आर्थिक अवस्था कमजोर भएका ग्रामीण क्षेत्रका नाबालिका तथा किशोरीलाई सामाजिक सञ्जालबाट कुराकानी गरी राम्रो आम्दानी हुने ब्यूटीपार्लरमा काममा लगाई दिने भनी प्रलोभनमा पारेर काठमाडौंमा आउने भाडा पठाएर झिकाउने गरेको अनुसन्धानका क्रममा पाइएको छ ।
NepatopThe Next
काठमाडौं आएपछि टोखामा रहेको आफ्नै स्पा सेन्टरमा मासिक रु १० हजार तलब दिने भनी काममा लगाई आफैँले पटकपटक करणी गरी र जबरजस्ती यौनधन्दामा लगाइएको खुल्न आएको मिश्रले बताए । यसैगरी तिनै नाबालिकालाई प्रतिवादी मखमली माया स्याङ्तानको ठमेलस्थित ए वान स्पा सेन्टरमा ल्याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको पाइएको प्रहरीले जनाइएको छ ।
उनीहरूले सुरुमा बालिकालाई आफूले सञ्चालन गरेको मसाज सेन्टरमा मसाजसम्बन्धी तालिमसमेत दिई मसाजको काममा लगाउने र बिस्तारै मसाज सेन्टरमा आएका व्यक्तिको इच्छाअनुसार शारीरिक सम्पर्क राख्न लगाउने गरेको पाइएको अनुसन्धानमा खुलेको छ । त्यसपछि ती बालिकालाई विभिन्न होटल तथा गेष्टहाउसमा वेश्यावृत्तिका लागि पठाउने गरेको खुल्न आएको छ । नाबालिकाहरूलाई स्पा सेन्टरमा मसाज गरेको फोटो तथा भिडियोहरू आफन्तहरूलाई पठाई दिने भनी डरत्रासमा पारी यौनधन्दामा लगाउने गरेका पनि ब्यूरोले जानकारी दिएको छ ।