बारा । बारास्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी शिकारीमा संलग्न एक व्यक्तिको मृत्यु भएको छ। सुरक्षा गस्तीमा रहेका नेपाली सेना र निकुञ्ज प्रशासनका कर्मचारीहरूमा शिकारीहरूको समूहले गोली चलाएपछि सेना द्वारा जवाफी फायरिङ गरिएको थियो।
शुक्रबार निकुञ्ज क्षेत्रमा हतियारसहित प्रवेश गरेका शिकारीलाई नभाग्न चेतावनी दिइएको थियो। तर, उल्टै शिकारी समूहले सेनाको टोलीमाथि गोली प्रहार गरेपछि गस्तीमा रहेका सेनाले जवाफी फायरिङ गरेका थिए। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जवाफी फायरिङपछि भागेका शिकारीको टोलीलाई खोजी गर्दा घटनास्थल वरपर एक व्यक्ति मृत अवस्थामा फेला परेको पुष्टि भएको छ।
सेनाले घटनास्थलबाट दुई नाल भरुवा बन्दुक र शिकारीहरूले प्रयोग गरेका बन्दोबस्तीका सामग्री पनि बरामद गरेको छ।
अम्लेश्वर मध्यवर्ती सामुदायिक वन समितिका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि, निकुञ्ज प्रशासन तथा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीद्वारा घटनासम्बन्धी अनुसन्धान सुरु गरिएको छ। साथै, मृतकको मुचुल्का उठाई शवको पोस्टमार्टमका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको सेनाले जानकारी दिएको छ।
निकुञ्ज क्षेत्रमा चोरी शिकारी रोकथामका लागि नेपाली सेना र निकुञ्ज प्रशासनको संयुक्त प्रयास निरन्तर जारी रहेको छ।