वीरगंज । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीको नियुक्ति खारेजी र आफूलाई पुनर्वहाली गर्न माग गर्दै दायर गरेको रिटको आज सुनुवाइ हुँदैछ । जेठ ३१ गते भएको सुनुवाइ हेर्दा हेर्दैमा सकिएपछि आजका लागि पेशी तोकिएको थियो ।
उक्त रिट सुनुवाइका लागि नकुल सुवेदी, कुमार रेग्मी र अब्दुल अजिज मुसलमान सम्मिलित पूर्ण इजलासमा पेशी चढेको छ । जेठ ३१ गतेको सुनुवाइमा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, शम्भु थापा, बद्रीबहादुर कार्की, हरिहर दाहाल, ललित बस्नेत शतिसचन्द्र खरेल, अपूर्व खतिवडाले बहस गरेका थिए । बिहीबार निवेदकका तर्फका कानून व्यवसायीको तर्फबाट मात्रै बहस भएको थियो । अब प्रतिवादीका तर्फबाट बहस हुनेछ ।
केदार कार्की असोज २७ गते संविधानको धारा १६८ (५) अन्तरगत मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कात्तिक १ गते विश्वासको मत पाएका उनले दोहोर्याएर विश्वासको मत लिनु नपर्ने जिकिर गरेका थिए ।
केन्द्रीय सत्ता गठबन्धन परिवर्तन भएपछि एमाले माओवादीले संकल्प प्रस्ताव प्रदेशसभाबाट निवर्तमान मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन सन्देश दिएका थिए । संकल्प प्रस्तावले वैशाख २६ गतेभित्र विश्वासको मत लिन दिएको समय सीमामा विश्वासको मत नलिएपछि नयाँ सरकार गठनका लागि आव्हान भएको थियो ।
संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आव्हान भएपछि एमाले संसदीय दलका नेता हिक्मतले मुख्यमन्त्री दाबी गरेका थिए । उनले पछिल्लोपटक वैशाख २७ गते एमाले-माओवादीका सांसदहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएर विश्वासको मतसमेत पाइसकेका छन् ।
कार्कीले कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभामुख अम्बरबहादुर विष्ट, संकल्प प्रस्तावका प्रस्तावक रेवती रमण भण्डारी, समर्थकहरू गणेशप्रसाद उप्रेती, किशोरचन्द्र दुलाललाई विपक्षी बनाएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई समेत विपक्षी बनाइएको छ ।