बारा । बारामा रहेको भुमीसुधार तथा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत राजेश गिरीको सरुवा भएको एघारौं दिनसम्म पनि कार्यालय नछोडेको समाचार प्राप्त भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गिरीलाई सरुवा गरेपनि उनले कार्यालय छोडेका छैनन्।
गत जेठ २८ गते गिरीलाई गाईघाट, उदयपुरमा प्रमुख मालपोत अधिकृतको रुपमा सरुवा गरिएको थियो। सरुवाको पत्र प्राप्त भएपनि गिरीले कार्यालय नछोड्नुमा उदयपुर भन्दा बारामा बढी राम्रो कमाई हुने भएकाले त्यहाँ नगएको सेवाग्राहीहरुले आरोप लगाएका छन्।
कार्यालयकै एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताएको अनुसार, गिरीले सरुवाको पत्र बुझिसकेपछि पनि विभागलाई प्रलोभनमा पारेर बारामै बसिरहेको आरोप लागेको छ। एक स्रोतका अनुसार, जग्गा किनबेच, रोका, दृष्टिबन्धक, डाखा लगायतका कामहरुबाट कार्यालयमा दैनिक ३० देखि ४० हजार रुपैयाँ भन्दा बढीसम्म कमाई हुने बताइएको छ।
सम्पर्क गर्दा गिरीले सरुवा भएको मिति देखि २१ दिनसम्म बरबुजारत गर्ने, ७ दिनको तयारी म्याद र २ दिनको बाटो म्याद हुन्छ भन्ने निजामति ऐनमा व्यवस्था रहेको कारण तुरुन्त छोड्न नमिल्ने बताए। उनले आर्थिक वर्षमा विभिन्न पार्टीबाट काम गरेको भुक्तानी गर्नु पर्ने भएकाले पनि कार्यालय नछोडेको स्पष्ट पारे।
गिरीले भनेका छन् कि, “मुद्दाहरुको फैसलाहरुको प्रमाणीकरण गर्नु पर्ने भएकोले कार्यालय नछोडेको छु। मुद्दाको नामसारी, डाखा, संसोधन तथा ट्रयाल चेक जस्ता सबै काममा कसले निर्णय गर्ने? मैले ३ महिना अगाडि नै मन्त्रालयबाट सरुवाको मांग गरेको थिएँ।”
मालपोत कार्यालय बारामा ४ जना अधिकृतहरुको दरबन्दी भएपनि अहिले कुनै पनि अधिकृत नरहेको बताएका छन्। प्रमुख गिरीले गत वर्ष जेष्ठ १० गते हाजिर भएका थिए।