सर्लाही । सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रुबाहक बस ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षीय दशरथ कोहार र ५० वर्षीय रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमूना अस्पताल पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।
रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरूको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।