वीरगंज | जनता समाजवादी पार्टी नेपालको पहिलो महाधिवेशनमा अध्यक्षबाहेक नेतृत्वका लागि बिहीबार निर्वाचन हुने भएको छ । केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी सदस्य, केन्द्रीय निकायहरुको बिहीबार मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन सूचनाअनुसार बुधबार बेलुकी सवा ९ देखि १० बजेसम्म मनोनयन पत्रमाथि दाबी/विरोध दर्ता गर्ने, १० देखि साढे १० सम्म दाबी/विरोधउपर निर्णय, जेठ ३१ बिहीबार बिहान ८ देखि साढे ९ बजेसम्म मनोनयन पत्र फिर्ता लिने र ९:४५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने उल्लेख छ ।
जसपा नेपालको अध्यक्षमा भने उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । बुधबार उम्मेदवारीका लागि तोकिएको समयमा अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष चुनिएका हुन् । तर अध्यक्षबाहेकका पदमा भने नेताहरुबीत तीव्र प्रतिस्पर्धा छ । जसपा नेपालमा २१ जना पदाधिकारीसहित २ सय १ सदस्यीय केन्द्रीय समिति चयन हुने छ ।
एकजना सहअध्यक्ष पदका लागि राजकिशोर यादव, मो. लालबाबु राउत र रकम चेम्जोङले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै चारजना पुरुष उपाध्यक्षका लागि मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, सरोजकुमार यादव, अर्जुन थापा, अमरेशनारायण झा, मो. खालिद, गोविन्द चौधरी, आङदेङ शेर्पा, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, शिवलाल थापामगर सहितका १७ जनाले मनोनयन दर्ता गराएका छन् । एकजना महिला उपाध्यक्ष पदका लागि रेखा यादव, लिलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सबिता यादव र राधा थापा गरी ६ जनाले उम्मेदवारी दिएका छन् ।
२ जना महासचिवका लागि मनिषकुमार सुमन, रामकुमार शर्मा, बोमबहादुर दर्लामी मगर, विजयकुमार, दीपक कार्की र अशोककुमार यादव ६ जनाले मनोनयन दर्ता गराएका छन् । एक महिला र २ पुरुष उपमहासचिव पदका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।