वीरगंज | सशस्त्र प्रहरी बल पर्साले वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बर्वालगायतका क्षेत्रमा सञ्चालित विभिन्न गोदाममा छापा मारेको छ । मंगलबार राति सशस्त्र प्रहरी बल पर्साले छापा हानेर ४४ लाखभन्दा बढीको अवैध सामान निय न्त्रणमा लिएको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको फौजले उक्त अवैध सामान नियन्त्रणमा लिएको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
उनका अनुसार वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीसमेतको उपस्थितिमा अवैध रूपमा सञ्चालित गोदाममा छापा मारेर सौन्दर्य क्रिम, मुङ दाल, मोटर पार्टस्लगायतका सामान बरामद गरेको सामानमा १४ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको लेक्मी ब्रान्डको क्रिम १४ हजार ५ सय ९२ पिस, सोही ब्रान्डको ८ लाख ६ हजार ४ सय रुपैयाँ बराबरको १६ हजार १ सय २८ पिस क्रिम रहेको छ । यस्तै सोही महानगरपालिकाको अर्को एक ठाउँबाट एक घरमा अवैध रुपले गोदाम गरी राखिएको ६ लाख रुपैयाँ बराबरको ३ हजार किलो दालसमेत बरामद भएको सहप्रवक्ता थापाले बताए ।
यसैगरी मंगलबार राति नै सोही गुल्मले वीरगन्ज महानगरपालिका वडा नम्बर १० बाट अवैध रुपमा राखिएको ११ लाख रुपैयाँ बराबरको मोटर पार्टस् र १० लाख ७५ हजार मूल्य बराबरको किराना सामानसमेत बरामद सामान बुधबार बिहान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।