सिरहा — सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादवसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवराजपुर गाउँपालिकाका तत्कालीन यादव, उपाध्यक्ष शोभा कुमारी, तत्कालीन योजना शाखा प्रमुख रमेश कुमार निधि, तत्कालीन जिन्सी प्रमुख सञ्जयप्रसाद यादव, वडा नम्बर-४ का अध्यक्ष मदन यादव र वडा नम्बर-५ का तत्कालीन अध्यक्ष मनोजकुमार यादव, वडा नम्बर-२ का तत्कालीन अध्यक्ष खुशिलाल साहविरुद्ध सोमबार नै अदालतमा मुद्दा दायर गरेको हो ।
यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, लेखापाल सोमप्रसाद आचार्य, इन्जिनियर कृष्णा साह र सबइन्जिनियर सन्तोषकुमार यादव तथा उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनी देवी मण्डल र सचिव रामभरोस मुखिया मलाहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नवराजपुर गाउँपालिका-२ मझौरामा प्रदेश सरकारको सांसद अनुदानबाट राम जानकी दलित आधारभूत विद्यालय मझौरामा अधुरो कार्य पूरा गर्नका लागि दिएको रकमको योजनामा कुनै पनि कार्य नगरी सम्पूर्ण रकम हिनामिना गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
विद्यालय भवनको काम नै नगरी नगराई नभए नगरेको कामलाई भए गरेको भनी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई झुट्टा मूल्याङ्कन गरी भुक्तानीको लागि स्वीकृत गरी/गराई, फिल्डमा नभए नगरेको कार्यलाई भएको भनी देखाई १४ लाख ५१ हजार ५५१ रुपैयाँ भुक्तानी लिई/दिई गाउँपालिकालाई हानिनोक्सानी पुर्याएको अख्तियारले ठहर गरेको छ ।