वीरगंज | महोत्तरी जिल्लाको भंगहा नगरपालिकामा बोक्सीको आरोप लगाउँदै एक महिलामाथि कुटपिट भएको घटना घटेको छ। कविलासी वडाका ४० वर्षीया जगतारन देवी साहलाई छिमेकी ५० वर्षीय राजेश साहले बोक्सी आरोप लगाउँदै कुटपिट गरेका हुन्।
कुटपिटबाट घाइते भएकी जगतारन देवीको उपचार जनकपुरधामस्थित काव्या अस्पतालमा भइरहेको छ। घटनामा संलग्न राजेश साहले सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोप लगाउँदै घरमै पसेर गालीगलोज गर्दै कुटपिट गरेको बताइएको छ।
महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले भने घटनालाई सामान्य विवादको रुपमा व्याख्या गर्दै बोक्सीको आरोपमा कुटपिट भएको जानकारी आफूहरूसम्म नआएको बताएका छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ।