वीरगंज | १ सय ७ सदस्यीय प्रदेशसभामा लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादी निर्णायक जनमतको नेतृत्वमा मधेश सरकार बनाउने विषयमा एमाले र माओवादीबाट सकारात्मक संकेत प्राप्त भएको छ, हाल जसपा नेपालको सरकारमा रहेको एकीकृत समाजवादी पनि जनमत
मधेश प्रदेशमा जनता समाजवादी पार्टीको सरकार विस्थापित गरी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने कसरत सुरु भएको छ । जसपाका सरोजकुमार यादवको नेतृत्वको मधेश सरकारबाट एमाले र माओवादी बाहिरिएपछि एमाले, माओवादीको मूल नेतृत्व जनमतलाई मुख्यमन्त्री दिएर केन्द्रीय समीकरणअनुसार मधेश सरकार बनाउने गृहकार्यमा लागेको हो ।
जनमतको नेतृत्वमा मधेश सरकार बनाउन गृहकार्य
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली जनमतलाई संघीय सरकारमा सहभागी गराउने उद्देश्यसहित मधेशमा जनमतलाई मुख्यमन्त्री दिन तयार भएको नेताहरूको भनाइ छ । जसपा नेपाल (अध्यक्ष उपेन्द्र यादव) सरकारबाट बाहिरिएपछि विकल्पमा जनमतलाई अघि सार्ने तयारी एमाले र माओवादीले अघि सारेका छन् ।
केन्द्रीय समीकरणमा रहे पनि नेकपा एकीकृत समाजवादी मधेशमा यादव नेतृत्वको सरकारमा सहभागी छ । दाहाल र ओलीसँग असन्तुष्ट समाजवादी अध्यक्ष माधवकुमार नेपालले जसपा नेपालको मधेश सरकारलाई विश्वासको मत दिने चर्चा चलेपछि ओली, दाहाल र नेपालबीच शुक्रबार छलफल भएको छ । तीन नेताबीच भएको छलफलमा जनमतको नेतृत्वमा सरकार बनाउने गृहकार्य सुरु भएको हो ।
‘तीन नेताबीच केन्द्रकै समीकरण बनाउने गरी जनमतको नेतृत्वमा सरकार बनाउन सकारात्मक छलफल भएको छ,’ ओलीनिकट स्रोतले भन्यो, ‘समीकरण बाहिरबाट सरकार बन्दैन । त्यसपछि केन्द्रीय समीकरणमा जनमत सहभागी हुनेछ ।’
तीन नेताबीच एकीकृत समाजवादीका दीर्घ सोडारीको नेतृत्वको सरकारलाई पूर्णता दिने, कर्णाली र कोशीमा एकीकृतका मन्त्री सहभागी गराउने विषयमा ‘सकारात्मक’ कुराकानी भएको नेताहरूको भनाइ छ । एकीकृतका अध्यक्ष नेपालले ओली र दाहालले आफ्नो दललाई बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएपछि शुक्रबार तीन नेताबीच छलफल भएको हो ।
‘सुदूरपश्चिम प्रदेश सरकारलाई पूर्णता र अन्य प्रदेश सरकारमा पनि सम्मानजनक सहभागी हुने कुरा भएपछि माधव नेपालको असन्तुष्टि मेटियो होला,’ दाहालनिकट स्रोतको भनाइ छ, ‘अब केन्द्रीय समीकरणको विकल्पमा माधव नेपाल जानु हुन्न भन्ने विश्वास प्रधानमन्त्रीको छ ।’
जनमतका अध्यक्ष सीके राउतको नेतृत्वमा शुक्रबार एमाले अध्यक्ष ओलीसँग मधेश सरकारबारे छलफल भएको हो । ओलीले जनमतको नेतृत्वमा सरकार बनाउन सकारात्मक संकेत दिएको जनमतका महासचिव चन्दन सिंहले जानकारी दिए । उनले प्रधानमन्त्री दाहालसँग पनि विभिन्न माध्यमबाट भएको कुराकानीमा सकारात्मक जवाफ आएको दाबी गरे ।
‘जनमतको नेतृत्वमा मधेश सरकार बनाउने विषयमा एमाले र माओवादीबाट सकारात्मक संकेत प्राप्त भएको छ,’ उनले कान्तिपुरसँग भने, ‘हाल जसपा नेपालको सरकारमा रहेको एकीकृत समाजवादी पनि जनमत नेतृत्वको सरकारमा आउने विश्वास छ ।’ केन्द्रीय समीकरणअनुसार सरकार बनाउने गृहकार्य भइरहेको उनको भनाइ छ । ‘मधेशमा हाम्रो नेतृत्वमा सरकार हुनुपर्ने बटमलाइन हो,’ उनले भने, ‘त्यसो भयो भने केन्द्रीय समीकरणमा जनमत रहन्छ ।’
माओवादीको शुक्रबार बिहान भएको संसदीय दलको बैठकमा दाहालले नेपालका कारण गठबन्धनमा कुनै समस्या नहुने बताएका थिए । ‘सरकार/गठबन्धन तत्काल केही हुन्न,’ उनले भने, ‘माधव कमरेडहरूको तलमाथि हुन्न ।’ मधेश सरकार पनि केन्द्रीय समीकरणअनुसार हुने उनले बताए । मधेश प्रदेशका मुख्यमन्त्री यादवले जेठ २३ मा विश्वासको मत लिने प्रदेशसभाको तालिका छ । त्यसअघि नै बहुमतसहित जनमतको सरकार बन्ने सिंहको भनाइ छ । उता यादवले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएका छन् ।
बुधबार मधेश सरकारकै विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको थियो । त्यसबेला नेपालले मधेशमा जसपा नेपालको नेतृत्वको सरकारलाई सघाउने संकेत दिएका थिए । शुक्रबार ओली र दाहालले मधेश सरकार निर्माणमा केन्द्रीय समीकरणविपरीत नजान आग्रह गरेपछि नेपालले ‘पुनर्विचार’ गर्ने बताएका छन् । अरू प्रदेश सरकारमा सम्मानजनक सहकार्य भए आफ्नो दलले दायाँबायाँ नगर्ने सर्त उनले राखेका छन् ।
बिहीबार मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन तीन दलबीच सहमति भइसकेको छ । एमाले, माओवादी केन्द्र र जनमत पार्टीको बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको सार्वजनिक भएको थियो । सरकारमा यी तीन दलसँगै एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने सहमतिपत्रमा उल्लेख छ । सहमतिमा तीनै पार्टीबाट संसदीय दलका नेताहरू एमालेका सरोजकुमार यादव, जनमतका महेशप्रसाद यादव र माओवादीका भरतप्रसाद साहको हस्ताक्षर छ । सहमतिमा लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीका प्रतिनिधिको हस्ताक्षर छैन । ‘सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय भएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । जनमतको नेतृत्वमा सरकार बनाउने ५ दलबीच सहमति भएको भनिए पनि विज्ञप्तिमा ३ दलको मात्रै हस्ताक्षर रहेको छ ।
वैशाख ३० मा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा छन् । जेठ २१ देखि संसद्को अधिवेशन आह्वान गरिएको छ र जेठ २३ मा यादवले विश्वासको मत लिने तयारी छ ।
१ सय ७ सदस्यीय प्रदेशसभामा यादवलाई सरकार जोगाउन ५४ सांसदको समर्थन आवश्यक पर्छ । मधेश प्रदेशसभामा एमालेका सभामुखबाहेक २४, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ८ र एकीकृत समाजवादीका ७ सांसद छन् । यता जसपा नेपालका १९ र कांग्रेसका २२ सांसद छन् । लोसपा ८ र एकीकृत समाजवादीका ७ सांसदले समर्थन गर्दा जसपा नेपालका यादवको ५६ मत पुग्छ ।