वीरगंज| पर्साकाे धार्मिकस्थल भाथास्थित दुग्धेश्वर मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न जिल्लाका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाउँदै त्यसका लागि संयुक्त पहल गर्ने जनाएका छन्।
शुक्रबार भाथास्थित दुग्धेश्वर मन्दिर परिसरमै बसेकाे सर्वदलीय तथा सर्वपक्षीय बैठकले भाथास्थित दुग्धेश्वर मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा स्थापित गर्नका लागि संयुक्त पहल गर्ने निर्णय गरेकाे हाे।
बैठकले मन्दिर छेउ रहेको ओरिया खोलामा तटबन्ध निर्माण, धर्मशाला र मन्दिरको जीर्णोद्धार, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै सुविधा सम्पन्न शौचालय निर्माण, टेलिफोन टावर जडान, चारभैया पोस्टदेखि मन्दिरसम्मको साँघुरो बाटो विस्तार गरी ३० फिटकाे ग्राभेल सडक निर्माण, भाथा मन्दिरमा विद्युतीकरण, दुग्धेश्वरनाथ मन्दिरलाई धार्मिक पर्यटकीय स्थल घोषणा गर्न संघ र प्रदेश सरकारसंग पहल गर्ने निर्णय गरेको हाे।
बैठकले गरेका निर्णय कार्यान्वयनका लागि तीनै तहका सरकारकाेमा पुगेर पहल गरिने बैठकमा सहभागी नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले जानकारी दिए।
मन्दिर विकास समितिका अध्यक्ष अलखदेव महतोको अध्यक्षतामा बसेकाे बैठकमा नेपाली कांग्रेस पर्साका सभापति एवं प्रदेश सांसद जनार्दन सिंह क्षेत्री, जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादव, जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ,लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष पुरुषोत्तमलाल झा,कांग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मी,पटेर्वा सुगाैली गाँउपालिकाका अध्यक्ष दिनेश चौधरी, पूर्वाधार विकास कार्यालय वीरगन्जका प्रमुख दीपक मिश्र लगायतको सहभागिता थियो।