वीरगन्ज । आज शुक्रबार, १८ गते, नेपाल मोबाइल व्यवसायी संघद्वारा पर्सा मोबाइल व्यवसायी संघ कमिटी गठन गरिएको छ। मधेश प्रदेशका अध्यक्ष मोहन कार्किको उपस्थितिमा कमिटी गठन कार्यक्रम ओम होटेल, आदर्शनगर, वीरगन्जमा दिउँसो १ बजे सम्पन्न भएको हो।
कार्यक्रममा सन्जय सोनि, बिरेन्द्र कलवार, बिसाल तिवारी, सुरज कुमार, अदित्य साह, बिजय गुप्ता, बिनोध रौनियार, लदु रौनियार लगायत पर्सा जिल्लाभरिका मोबाइल व्यवसायीहरूको उपस्थिति रहेको थियो। यो कार्यक्रमले पर्सा जिल्लामा मोबाइल व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्य राखेको छ।
कमिटी गठनको क्रममा अध्यक्ष मोहन कार्किले मोबाइल व्यवसायीहरूको समस्यालाई सम्बोधन गर्ने र व्यवसायलाई अझै मजबुत बनाउनका लागि संघको भूमिका महत्वपूर्ण हुने बताए। उपस्थित व्यवसायीहरूले पनि आ–आफ्ना समस्याहरू राख्दै समाधानको अपेक्षा गरेका थिए।
यो संस्थाले मोबाइल व्यवसाय सम्बन्धी विभिन्न समस्या समाधान गर्न, व्यवसायीहरूको हकहित रक्षा गर्न र व्यवसायिक मर्यादा कायम राख्नका लागि काम गर्नेछ। साथै, व्यवसायमा देखिने चुनौतीहरूलाई पहिचान गरी समयमै समाधान गर्ने उद्देश्यले संघले विभिन्न कार्यक्रमहरू संचालन गर्ने योजना बनाएको छ।
यस कमिटीले पर्सा जिल्लाका मोबाइल व्यवसायीहरूको समस्याहरूको समाधानमा ठोस पहल गर्ने र व्यवसायलाई थप पारदर्शी तथा व्यवस्थित बनाउने आशा गरिएको छ।