वीरगंज । जनकपुरधामलगत्तै रहेको धनुषाको कजरा रमौलस्थित एक पुरुषमाथि अन्धाधुन्ध चक्कु प्रहार गरिएको छ।
शनिबार साँझ करिब ७ः०० बजेको समयमा धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ४ कजरा रमौलस्थित बाटोमा घेरेर स्थानीय सदिक नदाफ घाइते भएका छन्। घटना भएको ठाउँ ललिया–रमौल जाने बाटोमा नदाफकै गाउँ नजिकै हो।
मिथिलाबिहारी नगरपालिका वडा नम्बर ५ ललियाका महेश साहको छोरा दिलिपले अन्धाधुन्ध चक्कु प्रहार गरेको स्थानीयहरूले बताएका छन्। बाटोमा रोकेर नदाफमाथि बिना कारण चक्कु प्रहार गरेको बताइएको छ। चक्कु प्रहारबाट गम्भीर घाइते बनेका नदाफलाई छाडेर आरोपित दिलिप साह भागेका थिए।
गाउँलेहरूले उनलाई समातेर प्रहरीलाई जिम्मा लगाएका छन्। चक्कु प्रहारको कारण अहिलेसम्म खुल्न सकेको छैन।
नदाफको उपचार जनकपुरको प्रादेशिक अस्पतालमा भइरहेको छ। घटना पछि गाउँलेहरूमा त्रास फैलिएको छ भने प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको छ।