वीरगंज | लालीगुराँस र गौतम श्री बहुउदद्देश्यीय सहकारी संस्थाबाट कुल १० अर्ब फिर्ता पाउनुपर्ने माग गर्दै पीडितहरूले उजुरी दिएका छन्।
समस्याग्रत सहकारी व्यवस्थापन समितिमा परेको उजुरी अनुसार लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट सात अर्ब ४० करोडभन्दा धेरै र गौतम श्री बहुउदेश्यीय सहकारी संस्थाबाट दुई अर्ब ८४ करोड १३ लाखभन्दा धेरै रकम फिर्ता माग्दै उजुरी परेको हो।
यी दुई सहकारीमा पाँच हजार नौ सय ३६ जनाले उजुरी दिएका थिए।
पछिल्लो समय यी सहकारीहरू समस्याग्रस्त घोषणा भएसँगै समितिले बचत फिर्ताको लागि उजुरी दिन पीडितहरूलाई आह्वान गरेको थियो।
हालसम्म २२ वटा सहकारी संस्था समस्याग्रस्त घोषणा भएका छन्। कुल ५९ हजार तीन सय २१ जना बचतकर्ताले ३५ अर्ब ९८ करोड ८० लाख रूपैयाँभन्दा धेरै बचत रकम आफूहरूले फिर्ता पाउनुपर्ने भन्दै उजुरी दिएका हुन्।
२०८० सालयता मात्रै आठ वटा सहकारी समस्याग्रस्त घोषणा भएका छन्।
यो अवधिमा समस्याग्रस्त हुनेमा पशुपति सेभिङ एण्ड क्रेडिट, तुलसी बहुमुखी सहकारी, शिवशिखर बहुउद्देश्यीय सहकारी, हाम्रो नयाँ कृषि सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी छन्।
त्यस्तै, कान्तिपुर सेभिङ एण्ड क्रेडिट, लालीगुराँस बहुद्देश्यीय सहकारी र गौतमश्री सहकारी छन्। अन्य संस्था २०७५ अघि समस्याग्रस्त घोषणा भएका हुन्।