वीरगंज | भारतकाे महाराष्ट्रमा एक रासायनिक कारखाना (केमिकल फैक्ट्री)मा विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ । ६० जना घाइते भएका छन् । ठाणे जिल्लाको डोम्बिवलीमा रहेको फ्याक्ट्रीमा विष्फोट हुँदा वरपरका घरमा समेत क्षति पुगेको बीबीसी हिन्दीले जनाएको छ ।
महाराष्ट्र सरकारका अनुसार विष्फोटका कारण भएको आगलागीबाट अरु ३ वटा फ्याक्ट्रीमा पनि नोक्सानी भएको छ । १२ वटा गाडीमा आगलागी भएको छ ।
कामदारहरू फ्याक्ट्रीमा केमिकलसँग सम्बन्धित काम गरिरहँदा आगलागी भएर विष्फोट भएको बताइएको छ । घटनापछि महाराष्ट्र सरकारले मृतकका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । घटनाबारे थप छानबिन हुने खबरमा उल्लेख छ ।