वीरगंज| बाराको सिमरा विमानस्थल अगाडि नालाको रडले छेडिएर बिहीबार बिहान आठ बर्षीय एक बालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बाराकै जीतपुरसिमरा उपमहानगरपालिका १ बस्ने आठ बर्षिय प्रितराज गिरी रहेका छन् ।सिमरा विमानस्थलको मुख्य गेटदेखि उत्तरतर्फ जाने सडकमा बनाइएको नालामा उक्त घटना भएको हो ।
नालाको रडले बालकको पेटमा छेडेको छ । बालकलाई सिमरास्थित अल्पाइन अस्पतालबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिए ।उनका अनुसार बालकको अवस्था गम्भीर छ ।
नाला निर्माणको ठेक्का लिएका ठेकेदार कम्पनीको लापरवाहीका कारण उक्त घटना भएको हो । नालाका लागि बनाइएको ढलानमा रड नछोपिएको र बालक खेल्ने क्रममा लडेर उक्त रडमा छेडिन पुगेको स्थानीयले जानकारी दिएका छन् ।
घटनालगत्तै स्थानीयले बालकलाई अस्पताल लगेका थिए । बालक थानीमाई आधारभूत विद्यालयको विद्यार्थी रहेको बुझिएको छ ।