वीरगन्ज | नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले पर्सा र बारा जिल्लाका २ सय १२ वटा उद्योगमा निःशुल्क ’स्मार्ट इनर्जी मिटर’ जडान गरेको छ । केन्द्रले पुरानो ’टीओडी’ (टाइम अफ डे) मिटर प्रतिस्थापन गरी ’स्मार्ट मिटर’ जडान गरेको हो ।
केन्द्रले ११ किलोभोल्ट वा योभन्दा बढी भोल्टेज ’सप्लाई’ लिएका ’एचटी मिटरिङ युनिट’ जडित (ट्रान्सफर्मर) भएको २ सय केभीदेखि २५ हजार किलोभोल्ट एम्पेर क्षमताको विद्युत् उपभोग गर्ने उद्योगमा स्मार्ट मिटर जडान गरेको हो । केन्द्रकाअनुसार उद्योगका ग्राहकको टीओडी मिटरलाई ‘शून्य दशमलव दुई एस एकुरेसी क्लास’ को स्मार्ट इनर्जी मिटर प्रतिस्थापन गर्ने नीतिअनुसार नयाँ स्मार्ट मिटर जडान गरेको हो ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जका प्रमुख अवधेशकुमार दुवेले प्राधिकरणको केन्द्रीय कार्यक्रमअन्तर्गत नै पर्सा र बाराका २ सय १२ वटा उद्योगमा निःशुल्क स्मार्ट इनर्जी मिटर जडान गरेको बताए । प्राधिकरणले एउटा उद्योगमा ७२ हजार रुपैयाँ पर्ने स्मार्ट इनर्जी मिटर जडान गरेको जनाएको छ ।रासस