वीरगञ्ज । जसपा नेपालका मधेस प्रदेश कमिटी सदस्य सोहन शर्मालाई बारा प्रहरीले कलैयाबाट पक्राउ गरेको छ । लघुवित्त वितीय संस्थाको कार्यालयमा आक्रमण गरी बिहीवार कागजात जलाएको आरोपमा प्रहरीले शर्मालाई पक्राउ गरेको हो ।
बाराको परवानीपुरस्थित एनआइसी एशिया लघुवित्त वितीय संस्थाको कार्यालयमा आक्रमण गरी एक समुहले संस्थाको कागजात समेत जलाएको थियो । उक्त वित्तीय संस्थाले फर्जी तमसुक खडा गरी अनावश्यक दुःख दिएको आरोप लगाउँदै कागजात जलाउने समुहमा जसपा नेता शर्मा समेत सहभागी थिए ।
पक्राउ परेका शर्मा विरुद्ध बारा प्रहरीले आपराधिक उपद्रवको मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो । शर्मा सहित उक्त घटनामा संलग्न अन्य ब्यक्तिहरु विरुद्ध समेत जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई बारा प्रहरीले खोजी गरिरहको छ ।
यता शर्माको पक्राउ विरुद्ध मिटर ब्याज पीडित संघर्ष समितिले बाराको कलैयामा दबाबमुलक कार्यक्रम गरेको छ । सो समितिले शर्माको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय बारा अगाडि प्रदर्शन गरेको थियो । शर्मा मिटर ब्याज पीडित संघर्ष समितिको बारा जिल्ला अध्यक्ष समेत हुन् ।