वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट करिब १४ लाख बराबरको भन्सार छलीका सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण र मातहतका युनिटबाट खटिएको टोलीले१३ लाख ९३ हजार ५४० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २ भगुवा ईलाकाबाट ६ लाख बराबरको लत्ताकपडा बरामद गरेको हो । भन्सार मुख्य गेटबाट ७ लाख ६९ हजार ८१२ रुपैयाँ बराबरको सामान पनि बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए ।
उनकाअनुसार भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको किराना सामान, कपडा, प्रतिबन्धित ब्रोइलर कुखुरा, ईलेक्ट्रोनिक्स र हार्डवेयरका सामान तथा कपडा ओसारपसारमा प्रयोग गरिएको बिआर ०५ ए सी २१४५ नम्बरको मोटरसाइकल र ना २ ह २६३२ नम्बरको अटो नियन्त्रणमा लिइएको छ । बरामद सामग्री आवश्यक अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए ।