बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१२ फत्तेपुरमा सार्वजनिक जग्गामा बनाइएका संरचना माथि उपमहानगरले डोजर चलाएको छ । कृषि बजार (हाटबजार) लाई व्यवस्थित गर्ने र वडा कार्यालय भवन निमार्ण गर्नुपर्ने भएकाले सार्वाजिक जग्गामा बनाइएको टहरा हटाउन उपमहानगरले पटक पटक सुचना निकालेको थियो । तर स्थानीयले उक्त सूचनको अटेरी गर्दै आए पछि शनिवार जीतपुरसिमरा उपमहानगरपालिकाले डोजर चलाएको छ ।
साबिक फत्तेपुर गाविस–३ हाल जीतपुर सिमरा वडा–१२ अन्तर्गत पर्ने कित्ता नं १७ को १८ कट्टा सार्वजनिक जग्गा २०२२ सालको नापीमा फिल्डबुकमा हाटबजार भनी उल्लेख छ । सो १८ कठा सार्वजनिक जग्गा मध्ये ६ कठा बजारमा प्रयोग भएको र बाँकी रहेको १२ कठा जग्गा व्यक्तिले घर टहरा बनाएर लामो समयदेखि भोग चलन गर्दै आइरहेको छन् । सो क्षेत्रलाई स्थानीय कृषि बजार सञ्चालन गर्ने गत आर्थिक वर्षमा उपमहानगरले ३५ लाख बजेट विनियोजन गरेको थियो । तर सार्वजनिक जग्गा खाली गर्न नसकेपछि बजेट फिर्ता भएको थियो ।
उपमहानगरले चालु आर्थिक वर्षको लागि पनि कृषि हाटबजार र वडा कार्यालयको भवन निमार्ण गर्न ९० लाख बजेट विनियोजन गरेको छ । उपमहानगरले पटक पटक सूचना निकालेर सार्वजनिक जग्गामा बनाएको टहरा हटाउन भने पनि स्थानीयले अटेर गर्दै आएको कारण शनिवार उपमहानगरले तोकेको म्याद सके पछि डोजर लगाएर अवैध रुपमा बनाएको संरचना भत्काएको १२ का वडाध्यक्ष श्यामबाबु खाँले बताए । उनले भने, ‘हामीले पटक पटक सूचना जारि गरेर बनाइएको टहरा हटाउन अनुरोध गर्दै आइरहेका छौ । तर कसैले टहरा हटाउन नमाने पछि उपमहानगरले डोजर लगाएर हटाए हो ।’
सार्वजनिक जग्गामा घरायसी र व्यावसायिक प्रयोजनका सटरहरु गरी करिब ६० घरधुरी थियो । फत्तेपुर बजारको वैज्ञानिक व्यवस्थापन र जीर्ण रहेको वडा कार्यालयको भवन निमार्णको लागि जीतपुरसिमरा उपमहानगरपालिकाले अवैध रुपमा बनाएको संरचना माथि डोजर चलाएको छ ।
शनिवार जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलसहितको टोलि फत्तेपुर पुगेर सार्वजनीक जग्गामा बनाइएको संरचना माथि डोजर चलाएको हो । आफु निर्वाचित भए देखिनै जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका सार्वजनिक जग्गा उपमहानगर मातहत ल्याउनमा लागेको र सोहि अनुसार जीतपुरको गौशाला र शनिबार फत्तेपुर बजारमा बनाइएका संरचना माथि डोजर चलाइएको उनले बताए । नगरपालिकाले पटक पटक गरेका अग्रहको कटेरी गरेका कारण सरंचना भत्काउन मेयर आफै कस्सिएका हुन् ।
यता जीतपुरसिमरा उपमहानगरपालिकाको फत्तेपुर बजारमा बनाइएको संरचना माथि डोजर चले पछि स्थानीयले नगरप्रमुख राजन पौडेल र वडाध्यक्ष श्यामबाबु खाँको प्रसंसा गरेका छन् ।उपमहानगरका–१२ मा व्यावसायिक तरकारी खेती, माछा पालन, हुने गर्दछ । सो सार्वजनिक जग्गामा विगत लामो समयदेखि सातामा २ दिन कृषि हाटबजार लाग्ने गर्दछ ।