वीरगञ्ज । सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीको आयोजनामा आँखा शिविरको आयोजना गरिएको छ । माट्रिका आई फाउण्डेशनको सहकार्यमा वीरगञ्जको श्रीपुरस्थित अल्पाईन स्कुलमा निशुल्क आँखा शिविरको आयोजना गरिएको हो ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीको सयुक्त आयोजनामा निशुल्क शिविर सञ्चालन भएको हो ।
सामाजिक क्रियाकलापलाई निरन्तरता दिँदै आएको सामुदायिक सेवा केन्द्र श्रीपुरले विद्यालयका विद्यार्थीको आँखा चेकजाँच गर्न आँखा शिविर आयोजना गरेको केन्द्रका अध्यक्ष राम सर्राफले बताए । उनकाअनुसार केन्द्रले आगामी दिनमा पनि स्वास्थ्य शिविरसँगै सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिनेछ ।
शिविरको उद्घाटन पूर्व प्रहरी बरिष्ठ उपरीक्षक सडानन्द कुर्मीले गरेका थिए । सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीले गर्ने कामको सह्राना गरे । प्रहरीलाई समुदायसँग जोड्ने र प्रहरी मेरो साथीको नारालाई साकार पार्न केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई छ । आगामी दिनमा पनि समाजलाई सुसुचित बनाउने कार्यक्रमलाई निरन्तरता दिन उनले अनुरोध गरेका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी बरिष्ठ नायब निरीक्षक गुणनिधि खकुरेल, पूर्व प्रहरी नायब निरीक्षक रामबहादुर यादव, त्रिमुर्ती टोल समितिका अध्यक्ष शम्भु सिंह, नेपाल ब्युटिसियन संघ नगर कमिटीकी अध्यक्ष राधा शर्मा, अल्पाईन स्कुलका संयोजक दुर्गानन्द चौधरी लगायतको उपस्थती रहेको थियो ।
कार्यक्रमकै अवसरमा केन्द्रले गर्ने क्रियाकलापमा सहयोग गर्ने विभिन्न विभिन्न व्यक्तिहरुलाई सम्मान पत्र प्रदान गरिएको केन्द्रका सचिव कुलनारायण प्रधानले जानकारी दिए ।
केन्द्रका बरिष्ठ सल्लाहकार पुरुषोत्तम दुवेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्यनारायण वि.क.ले गरेका थिए ।
शिविरमा नेत्र चिकित्सक मनिषा पटेल, नेत्र सहायक प्रगती कर्ण लगायतले आँखा चेकजाँच गरीरहेका छन् ।