वीरगंज | सिरहामा बम पडकाएर लुटपाट भएको छ। लहान नगरपालिका–१७ हरिपुरमा सुतली बम पडकाएर लुटपाट गरिएको प्रहरीले जनाएको छ।
गएराति राति करिब पौने १२ बजेको समयमा ४ वटा घरमा लुटपाट भएको इलाका प्रहरी कार्यालय, लहानका प्रहरी नायव उपरीक्षक विष्णु सोकीले जानकारी दिए।
लुटेराहरूले लुटपाट गर्दा प्रतिकार गर्ने क्रममा ६ जना घाइते भएका छन्। घाइते हुनेमा जिवी ठाकुर, निरसीदेवी ठाकुर, निरञ्जन यादव, देवनारायण साह, मनिलाल यादव र योगेन्द्रलाल यादव रहेको प्रहरी नायव उपरीक्षक सोकीले बताए।
उनले लुटपाट भएको ठाउँमा सुतली बमको कणहरू देखिएको बताए। लुटेराहरूले गरगहना, पैसा गरी करिब ५ लाख बराबरको लुटपाट गरेको उनले जानकारी दिए। यस सम्बन्धमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय, लहानले जनाएको छ।