वीरगञ्ज । प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो ।
सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ । दुई साताअघि सिन्धुलीका एसपी विनोद शर्मालाई पनि जिम्मेवारीबाट हटाइएको थियो ।
वसन्तबहादुर कुँवर, आइजिपी
गल्ती गर्नेहरूलाई छानबिन गरेर हटाएका हौँ । गलत काम गर्नेहरूलाई तत्काल कारबाही गर्ने नीति कार्यान्वयनमा लगिएको छ । यसबाट प्रहरीमा सकारात्मक प्रभाव देखिएको छ ।
त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका आधारमा कारबाहीस्वरूप हटाइएको थियो । बाँकेका एसपी सुवासचन्द्र बोहरा, बाराका सुरेश काफ्ले, रौतहटका महेन्द्र श्रेष्ठ, सर्लाहीका दयानिधि ज्ञवाली, महोत्तरीका श्यामकुमार राई र धनुषाका मित्रबन्धु शर्माको विषयमा उजुरी बढेपछि उनीहरूलाई गत २३ वैशाखमा हटाइएको थियो ।
उनीहरुविरुद्ध बिचौलियासँग आर्थिक लेनदेन गरेको, तस्करी नियन्त्रणमा राम्रो भूमिका नखेलेको, सर्वसाधारणसँग राम्रो व्यवहार नगरेको लगायतका उजुरी पटकपटक परेपछि उजुरीको आधारमा छानबिन गरी जिम्मेवारीबाट हटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।