वीरगंज | माओवादीबाट सरकारमा सहभागी दुई जना मन्त्रीले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्। आजैका मितिबाट लागू हुने गरी राजीनामा दिएको पत्रमा उल्लेख छ।
मधेश सरकारमा माओवादीबाट भरतप्रसाद शाह र युवराज भट्टराई मन्त्री थिए। भट्टराईले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।
शाह भने विना विभागीय मन्त्री थिए। उनले अर्थ मन्त्रालय नपाएपछि अन्य मन्त्रालयको जिम्मेवारी लिन अस्वीकार गरेका थिए।
यससँगै माओवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। माओवादी प्रदेश संसदीय दलका नेता भरतप्रसाद शाहले प्रदेश प्रमुख पत्र पठाएर समर्थन फिर्ता लिएको जनाएका छन्।
माओवादीले मसर्थन फिर्ता लिएसँगै जसपा नेपालका नेता यादव नेतृत्वको सरकार अल्पमतमा पर्नेछ। मधेशमा माओवादीका नौ सांसद छन्।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) बनेसँगै माओवादी मधेश सरकारबाट बाहिरिन खोजेको थियो। माओवादीले नेकपा (एमाले) सहित साना दलसँग मिलेर मधेशमा नयाँ सरकार गठनको गृहकार्य थालेको छ।