वीरगंज | चालू आर्थिक वर्षको नौ महिनामा कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
असार मसान्तमा अमेरिकी डलरमा यस्तो सञ्चिति ११ अर्ब ७१ करोड रहेकोमा चैत्र मसान्तमा २२.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ३६ करोड पुगेको हो।
राष्ट्र बैंकले देशको चालू वर्षको ९ महिना अवधिको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै रेमिट्यान्समा १९.८ प्रतिशतले मात्र बढेको तथ्यांक सार्वजनिक गरेको छ।
त्यस्तै, रेमिट्यान्स वृद्धिदर अमेरिकी डलरमा भने १७.७ प्रतिशत छ। यस अवधिमा १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ अर्थात् ८ अर्ब १५ करोड डलर नेपाल भित्रिएको छ।
चैत्र महिनाको समीक्षालाई हेर्दा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ। जसको कारण गत वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्समा कमी आएको छ।
गत वर्षको ९ महिनामा ६ लाख ५ हजार नेपालीहरू विदेश कामको खोजीमा गएकोमा चालू वर्षको ९ महिनामा ५ लाख ४२ हजार नेपालीहरू रोजगारीका लागि विदेशिएका थिए।
त्यस्तै चालू वर्षको ९ महिनामा शोधानान्तर(देशबाट बाहिरिने र भित्रिने रकमको अनुपात) बचत ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँ बचतमा छ।
गत वर्षको ९ महिनामा शोधानान्तर स्थिति १ खर्ब ७४ अर्ब २८ करोड रुपैयाँले बचतमा थियो। नौ महिनामा चालू खाता भने १ खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँ बचत छ। गत वर्ष ६० अर्ब ४३ करोडले चालू खाता घाटा थियो।
चालू आर्थिक वर्षको नौ महिनामा नेपालबाट बाहिरिने वस्तु (निर्यात) ३.७ प्रतिशतले कमी आई १ खर्ब १३ अर्ब ९५ करोडको मात्रै निर्यात भएको छ। गत आर्थिक बर्षको सोही अवधीमा २६.३ प्रतिशतले कमी निर्यातमा कमी आएको थियो।