वीरगंज । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिएका छन् ।
सरकारले एक सय रुपैयाँ दरको नयाँ नोटमा २०७७ मा संसद्बाट पारित चुच्चे नक्सा राख्ने निर्णयको विषयमा अभिव्यक्ति दिँदा विवादमा तानिएका उनले राजीनामा दिएका हुन् ।
सल्लाहकार नेपालले दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
सय दरको नोटमा चुच्चे नक्सा राख्दा भारतसँगको सम्बन्ध बिग्रिने भन्दै नेपालले राष्ट्र बैंकको निर्णयमा असन्तुष्टि जनाएका थिए । उनी आफैं राष्ट्र बैंकका पूर्वगभर्नर पनि हुन् ।
नेपालको उक्त अभिव्यक्तिपछि राष्ट्रपति रामचन्द्र पौडेलले पनि उनीसँग सोधपुछ गरेका थिए । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सल्लाहकार नेपालको अभिव्यक्तिबारे राष्ट्रपति र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउँदै आएका थिए ।
नेपालको नक्सा नोटमा प्रकाशित गर्दा राष्ट्रपतिका सल्लाहकारको टाउको दुखेको भन्दै ओलीले कडा आपत्ति जनाएका थिए ।