वीरगंज । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले कश्मीरमा चुनाव नलड्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले कश्मीरमा लोकसभा चुनावमा उम्मेदवार नउठाउने निर्णय गरे पनि हिन्दु बहुल जम्मुको दुई सिटमा भने उम्मेदवार उठाउने भएको छ ।
भाजपाले तीन सिट रहेको मुस्लिम बहुल कश्मीरमा उम्मेदवार नउठाउने भएको हो । भाजपाको यो निर्णय त्यहाँ रहेका नागरिकको रिसतर्फ इशारा गर्ने राजनीतिक विश्लेषक र विपक्षी पार्टीका नेताले बताएका छन् ।
कश्मीरमा यही मे २० अर्थात् जेठ ७ गते चुनाव हुँदै छ । चुनावमा प्रतिस्पर्धा नगर्ने भाजपाको निर्णयलाई राजनीतिक विश्लेषक तथा विपक्षी नेताले सरकारको विगतको कदमका कारण कश्मीरका बासिन्दामा उत्पन्न रिसलाई पार्टीले स्वीकार गरेको अर्थमा लिएका बिबिसी हिन्दीले जनाएको छ ।
सन् १९९६ पछि भाजपा कश्मीरमा चुनाव नलडेको यो पहिलो पटक हो । कश्मीर र भारतीय सङ्घ सरकारबिचको सम्बन्ध दशकौँदेखि तनावपूर्ण छ । भारतीय शासनाविरुद्ध भएको विद्रोह र त्यसलाई दबाउन गरेको सेना परिचालनका कारण बितेको तीन दशकमा कश्मीरमा हजारौँको ज्यान गएको छ ।
सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अनुच्छेद ३७० खारेज गरेर जम्मु र कश्मीरलाई दुई केन्द्र शासित प्रदेशमा बाँडेपछि अवस्था तनावपूर्ण बनेको हो । भारतीय संविधानको अनुच्छेद ३७० ले जम्मु र कश्मीरलाई स्वायत्तता दिएको थियो ।