वीरगञ्ज । सप्तरीस्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्यामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्र सुवेदी छन् । गत बिहीबार बिहान ३ बजेर १८ मिनेटमा सप्तकोसी नगरपालिका १ फत्तेपुरमा रहेको बैंकको शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय परशुराम फुयाँलको हत्या भएको थियो ।
सिसिटिभी फुटेजमा शङ्कास्पद व्यक्ति देखिएपछि प्रहरीले खोजी कार्य जारी राखेको थियो । मधेस प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले शङ्कास्पद सुवेदीलाई मकवानपुरबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी गजुसिद्धि बज्राचार्यका अनुसार सिसिटिभीको फुटेजका आधारमा सुवेदीको खोजी गरिएको थियो । बैंक लुट्न नपाएपछि सुरक्षा गार्ड फुयाँलको धारिलो प्रहार गरेर हत्या भएको थियो । लुटेरा भने फरार भएका थिए ।