वीरगंज । देशका केही स्थानमा अझै तीन दिन वर्षाको सम्भावना छ । हिजोअस्तिको तुलनामा शुक्रबार (आज) भने वर्षाको सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज काठमाडौंसहित कोसी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । “काठमाडौंमा पनि आज दिउँसो र साँझ वर्षाको सम्भावना छ,” उनले बाह्रखरीसित भने, “तर, हिजोअस्तिको तुलनामा आज अलि कम सम्भावना छ । काठमाडौंमा अहिले पनि बादल लागिरहेको अवस्था छ । बिहानै पानी परेको थियो ।”
गएको आइतबारयता देशका धेरै स्थानमा वर्षा भएको छ । स्थानीय र पश्चिमी वायु र भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावले वर्षा भइरहेको उनले बताए ।
भोलि र पर्सि (शनिबार र आइतबार) पश्चिमी वायु थप सक्रिय हुने अनुमान गरिएको छ । पश्चिमी वायु सक्रिय हुँदा वर्षाको सम्भावना बढी हुने उनले जानकारी दिए ।
“शनिबार र आइतबार पश्चिमी वायु अझै सक्रिय हुने देखिन्छ । त्यसले हल्कादेखि मध्यम वर्षा गराउने सम्भावना छ,” उनले भने, “भोलि पश्चिमी र पूर्वतिर वर्षाको सम्भावना बढी छ ।”