पोखरिया | राजन कुमार बानिया | पोखरिया नगरपालिका वडा नं. ४ मा बिहीबारदेखि नौ दिनसम्म श्रीविष्णु महायज्ञको आयोजना सुरु भएको छ। यो महायज्ञको पहिलो दिन बिहीबार भव्य कलशसहितको शोभायात्रा निकालिएको थियो।
कलशसहितको शोभायात्रा सतवरिया, पोखरिया बजार, शिवबरवा, सेमरबारी बरवा, चुरिहर्वा गाउँ हुदै नदीमा पुगेर त्यहाँ पूजापाठ गरी जल भरेर पोखरिया गाउँको परिक्रमा गर्दै पुन महयज्ञ मण्डपमा पुगेर समापन भएको थियो।
कलशतथा शोभायात्रामा ३ हजार १ सय ५१ जना कुमारी कन्याका साथै करिब ८ हजार भक्तजन सहभागी भएको महायज्ञ संयोजक तथा वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानुले जानकारी दिए। शोभा यात्राले विभिन्न गाउँको परिक्रमा गर्ने क्रममा यात्रामा सहभागीहरुलाई ठाँउठाँउमा विभिन्न व्यक्ति र संस्थाले चीसो सर्वत पानी, फ्रुटी, फलफुलहरु बाँडेका थिए।
शोभायात्रामा पोखरिया नगरपालिकाका मेयर प्रद्युमनप्रसाद चौहान, उपमेयर रूबी कुमारी ठाकुर, संविधानसभा सदस्य रामेश्वर प्रसाद रौनियार, पूर्व मेयर दीपनारायण रौनियार, नेता गौरीशंकर साह तेली, नेजामुदीन समानी, आशादेवी चौहान, सकिम मियाँ लगायतको पनि सहभागीता रहेको स्थानीय सञ्चारकर्मी शैलेस गुप्ताले जानकारी दिए।