जनकपुरधाम । न्यूजब्यूरोका कार्यकारी सम्पादक स्वर्गीय विनय कुमार यादवको मृत्यू प्रकरणमा धनुषा प्रहरीले कृतिम सुस्तता देखाउँदै आएका छन् ।
उनको मृत्यू प्रकरण शंकास्पद रहेको भन्दै परिवारजनले जाहेरी उजुरी गरेपनि छानबिनको गतिलाई सुस्त बनाएको हो । जाहेरी पेश गरेको एक साता बितिसक्दा समेत धनुषा प्रहरीले जाहेरी दर्ता गर्न मानेका छैनन् । पत्रकार यादवको मुद्दामा धनुषा प्रहरीले कृतिम रुपमा मुद्दाप्रति गम्भिर भएको देखाएपनि आन्तरिक रुपमा उनको मुद्दालाई सेलाउने प्रयासमा लागेको आरोप परिवारजनले लगाएको हो ।
जाहेरी बुझेपनि अहिलेसम्म दर्ता नगरिदिएपछि आरोपितहरुले परिवारजनलाई आँखा देखाउन थालेको गुनासो गरिएको छ । मृतक पत्रकार यादवको घर परिवारको डरको माहौल उत्पन्न भएको अवस्थामा प्रहरीको रबैयाले झन त्रास बढेको हो । अहिले हिरासतमा रहेको ललन भन्ने लक्ष्मीनारायण यादवसहित थप तीन जनामाथि परेको जाहेरीमा धनुषा प्रहरीले दिन काट्ने काम गरिरहेको पाईएको छ ।
यसअघि अपराध अनुसन्धान शाखाका प्रहरी अधिकृतले परिवारजनलाई बलपूर्वक यथाशिघ्र जाहेरी ल्याउन दबाब दिएका थिए भने जाहेरी परेपछि दर्ता नगर्दा प्रहरीमाथि नै शंका गरेको हो । परिवारजनले आरोपित बचाउन चलखेल गरेको हुन सक्ने शंका गरेको हो ।
“कि त जाहेरी दर्ता गरिदिनुपरो, जाहेरी अनुसार आरोपितहरुलाई पक्राउ गरी अनुसन्धान गर्नुपरो वा जाहेरी फिर्ता गरिदियोस र साफ भाषामा भनिदिनुपरो की जाहेरी दर्ता हुँदैन, हामी अर्को विकल्प खोज्छौँ । हामी कानुनी बाटोमा छौँ, अहिले हाम्रो भरोसा भनेकै प्रहरी हो, तर उनीहरुको रबैयाले अब शंका लाग्न थालेको छ । मानवता मरेकै हो की भनेर जस्तो महसुस भईरहेको छ ।”– मृतक यादवका भाई शंकर यादवले बताए ।
यता, धनुषा प्रहरीका अधिकारीले अझै अनुसन्धान जारी रहेको बताउँदै खेप्दै आएका हुन् । पत्रकार यादवको गत बैशाख ११ गते विहान करिब ३ः४५ बजेको समयमा जनकपुरधाम–ढल्केवर सडकखण्डमा शव भेटिएको थियो ।