वीरगंज | वीरगन्जबाट प्रहरीले भन्सार राजश्व छलीको आशंकामा ८७ लाख भन्दा बढीको मालसामानसहित एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगन्जको ट्रान्सपोटबाट मालसामान लिएर काठमाडौं तर्फ जाँदै गरेको ना ६ ख ३८६१ नम्बरको ट्रक प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर ८ स्थित घण्टाघरमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त ट्रकबाट भन्सार राजश्व छलीको औषधि,कपडा लगायतका थरी ८७ लाख ५० हजार ४१५ रुपैयाँ मूल्यको सामान बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
चेकजाँचका क्रममा ट्रकका चालकले देखाएको बीलबिजक र भन्सार प्रज्ञापनपत्र भन्दा बढीको सामान भेटिएपछि सामानसहितको ट्रक नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको थापाले बताए ।