वीरगंज | बाराको कलैयामा साढे पाँच महिनादेखि यातायात व्यवस्था कार्यालयको संचालनमा आएसँगै नागरिकले खेप्नुपर्ने सास्तीको अन्त्य भएको छ।
कलैयामै यातायात कार्यालय स्थापना भएपछि विभिन्न सेवाका लागि सहज बन्दै गएको छ। जिल्लामै कार्यालय स्थापना हुँदा बाराबासीले अब सवारी अनुमति पत्र, सवारी दर्ता, नविकरण जस्ता काममा सहज भएको छ। सेवाका लागि अन्य जिल्लामा जानुपर्ने र महिनौ सम्म कुर्नुपर्ने समस्या हटेको छ।
अब बारा बासीले नयाँ लाईसेन्स लिनदेखी सवारी नविकरण जस्ता कामहरु गर्न बाहिर जानु नपर्ने भएको हो। कार्यालयमा सेवा लिनेहरुको भिड बढेको छ।
यातायात व्यवस्था कार्यालय कलैया बाराले साढे पाँच महिनामा २ करोड १४ लाख २३ हजार ७ सय ६६ रुपैयाँ राजस्व संकलन गरेको छ। जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ३ गङ्गापुरमा रहेको शिक्षा तालीम केन्द्रको अडिटोरियम हलमा मंसिर २५ गते यातायात कार्यालयको स्थापना भएको हो।
कार्यालयले फागुन २३ गते देखि नयाँ तथा वर्ग थप सवारीचालक अनुमति पत्रको लागि अनलाइन दरखास्त आहवान गरेको थियो। चैत्र ५ गतेदेखि सवारी चालक अनुमति पत्रको लागि लिखित तथा प्रयोगात्मक परिक्षा संचालनको सुरुवात भएको कार्यालयका प्रमुख महम्मद हुसैनले बताए।