वीरगंज | प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भवन उद्घाटन गर्न सल्यान आउने भएका छन्।
दार्मा गाउँपालिकाको वडा नं. ३ फारुला चौरमा निर्मित नयाँ प्रशासनिक भवन उद्घाटन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड सल्यान आउन लागेका हुन्।
वैशाख २८ गते बिहान १० बजे हेलिकप्टरमार्फत प्रधानमन्त्री प्रचण्ड सल्यान पुग्ने हुँदा तयारी गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीका अनुसार कुल लागत ७ करोड ८ लाख ५२ हजार बढीको नयाँ प्रशासनिक भवन ४ करोड ६५ लाख ७ हजार ८४३ रुपैयाँमा टेन्डर भएको थियो।
२०७८ असार २५ गते निर्माण सुरू भई यही वैशाख १० गते नयाँ प्रशासनिक भवन निर्माणको काम पूरा भएको हो। साढे २ तले भवनमा २४ कोठा छन्। भवन अपांगमैत्री रहेको प्रमुख प्रशासकीय अधिकृत ओलीले जानकारी दिए। भवन धुलिखेल निर्माण कम्पनीले निर्माण गर्ने जिम्मा लिएको थियो।
भवन उद्घाटनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सार्वजनिक रूपमा सम्बोधन गर्ने कार्यक्रम पनि छ।