वीरगंज | नेकपा एमाले पर्साको नवौं जिल्ला अधिवेशनको क्रममा शनिवार साँझ चुनाव सम्पन्न भएको छ । जिल्ला कमिटीको ४० पदको लागि भएको मतदानमा कुल मतदाता ६१५ मध्ये ५३३ मत खसेको थियो ।
शनिवार राति १० बजेपछि मतगणना शुरू हुने प्रमुख निर्वाचन अधिकृत भोजराज ढकालले बताए । उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष एवं सदस्यलगायतका पदको लागि चुनावको लागि मध्याह्न १२ देखि साँझ ५ बजेसम्म मतदान कार्यक्रम चलेको थियो ।
यसअघि पर्सा जिल्ला अध्यक्षमा डा विश्वम्भर शर्मा निर्विरोध चयन भइसकेका छन् भने अन्य करीब ८० प्रतिशत पदमा सर्वसहमत पदाधिकारी चयन भइसकेको उनले बताए । यसअघि शुक्रवार दिनभरि चुनाव बिथोलिएको थियो । दुई पक्षबीच असमझदारी हँुदा कुटाकुट भएको थियो ।
कुल १२७ सदस्यीय जिल्ला कमिटीमा दुई पक्ष चुनावमा होमिएका छन् । २०६४ पछि करीब १६ वर्षको अन्तरालमा भएको पर्सा एमालेको जिल्ला अधिवेशनमा वीरगंज, पर्सागढी र सखुवाप्रसौनी पालिकाबाट जिल्ला सदस्य चयन हुन सकेका छैनन् भने बाँकी ११ पालिकाबाट जिल्ला सदस्यहरू चयन भइसकेका छन् ।