वीरगञ्ज। नेकपा एमाले पर्साको जिल्ला अध्यक्ष पदमा वर्तमान जिल्ला संयोजक डा. विश्वम्भर प्रसाद शर्मा निर्विरोध निर्वाचित हुनु भएको छ।
नेकपा एमाले पर्साको नवौँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन प्रक्रिया अगाडी बढेसँगै अध्यक्ष पदमा डा. विश्वम्भर शर्मा सहित कुनाल महतो थारु र हनिफ मियाँ जोलाहले उम्मेदवारी दर्ता गराएको भए पनि अन्तिम समयमा आएर थारु र मियाँले उम्मेदवारी फिर्ता लिएसँगै शर्मा निर्विरोध निर्वाचित हुनु भएको हो ।
त्यसैगरी उपाध्यक्ष पदमा लालबाबु शेख, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले उम्मेदवारी दिनु भएको छ भने सचिवमा महेश दास, नवराज शर्मा र शिव प्रसाद पटेलले उम्मेदवारी दिनुभएको छ ।
यता सह–सचिवमा नविजान मियाँ अन्सारी, वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष राम किशोर सिंह पराग, इमरान हुसेन तथा महिला तर्फ सहसचिव पदमा सिता देवी लामा र गिता भण्डारीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
अध्यक्ष पदमा शर्मा निर्विरोध निर्वाचित भएसँगै अन्य पदमासमेत निर्विरोध गराउने प्रयास जारी रहेको र अन्तिम सम्म नमिलेमा आज साँझ नै बाँकी पदका लागि निर्वाचन गरिने जनाइएको छ । वीरगन्जको क्लासिक व्याङ्क्वेटमा एमाले पर्साको ९ औँ जिल्ला अधिवेशनको बन्द सत्र अन्तरगत निर्वाचन प्रक्रिया अगाडी बढेको हो ।