वीरगंज | भारतको दूरसञ्चार कम्पनी एयरटेलले नेपालका इन्टरनेट सेवा प्रदायकलाई दिँदै आएको व्यान्डविथ आपूर्ति रोकेपछि नेपालमा धेरैजसो इन्टरनेट सेवा अवरुद्ध भएको छ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानका एक अधिकारीले एयरटेलले व्यान्डविथ आपूर्ति रोकेको पुष्टि गरे ।
“नेपालका इन्टरनेट सेवा प्रदायकको ८० प्रतिशत भन्दा बढी आपूर्ति एयरटेलबाट हुने गरेको छ, उसले आपूर्ति रोकेको जानकारी औपचारिक र अनौपचारिक दुवै तरिकाले दिइसकेको छ,” आइस्पानका एक अधिकारीले बाह्रखरीसँग भने ।
बिहीबार दिउँसोदेखि नेपालका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको छ । वर्ल्डलिंक, भायानेट, सुबिसुलगायत इन्टरनेट सेवा प्रदायकको इन्टरनेट स्लो हुने तथा चल्दै नचल्ने समस्या देखिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा प्रदायकले ब्यान्डविथ आयात गरेबापत भारतीय कम्पनीलाई तिर्नुपर्ने रकम तिर्न सिफारिस गरेको छैन । यसो हुँदा उनीहरूले भारतीय कम्पनीलाई भुक्तानी गर्न सकेका छैनन् । सरकारलाई बक्यौता नतिरेको भन्दै सञ्चार मन्त्रालयले विदेशी मुद्रा सिफारिस नगरिदिएको हो ।
सेवा प्रदायकहरूले आफूहरूले बक्यौता तिर्न बाँकी नरहेको दाबी गर्दै आएका छन् । यस्तोमा सरकारले भुक्तानी गर्न नदिँदा इन्टरनेट बन्द हुन सक्ने चेतावनी उनीहरूले दिएका थिए । अहिले भने एयरटेलले आपूर्ति नै रोकिदिएको हो । टाटा र अन्य भारतीय कम्पनीबाट पनि सेवा प्रदायकले ब्यान्डविथ आयात गर्ने गरेका छन् ।